फाइल फोटो / नेपालवाणी

जिपी बराल,

महोत्तरी, २७ वैशाख :  महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूणर् भुक्तानी पाएका छन् । जिल्लाको गौशाला-१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज (बोलचालीमा एभरेष्ट चिनी उद्योग, चिनी मिल) ले यसपालि २०८०/०८१ सिजनको सम्पूणर् भुक्तानी किसानलाई उपलब्ध गराएको हो ।

दुई वर्षअघिसम्म उखुको भुक्तानी पाउन वर्ष दिनभन्दा बढी पर्खनु परेको सम्झदा अहिलेको अवस्थाले किसानलाई निकै राहत भएको छ । तर उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो पोखेका छन् ।

“यसपालि उखुको मिलले दिने सबै रकम पाइयो, समयमै उखुको भुक्तानी पाउँदा खुशी छौं” भङ्गाहा-४ रामनगरका उखु किसान अरुण गिरी भन्नुहुन्छ, “तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिदै आएका छौ, मूल्य निर्धारणमा हाम्रो कुरा सुनिएको छैन ।” आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउन परेको गिरीसहितका किसानको गुनासो छ । यसपालि पनि सुरुमा मूल्य निर्धारण नहुँदै आपूmहरुले उद्योगलाई उखु दिन थालेको गिरीले बताउनुभयो ।

उखुको मूल्य निर्धारणमा आपूmहरु सधै ठगिदै आइएको किसान बताउँछन् । “मूल्य निर्धारण त खास आधार टेकेर गरिन पर्ने हो नि , तर उद्योग र सरकारी प्रतिनिधिले मिलोमतो गरेर हचुवाका भरमा मूल्य तोक्ने गरिएको छ” उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा भन्नुहुन्छ , “यो अवैज्ञानिक छ ।” बर्सेनि चिनीको मूल्यअनुपात र खेती लागतको मुल्याङ्कनलाई मूल्य निर्धारणको आधार बनाइन पर्ने कुशवाहा बताउनुहुन्छ । अहिले हाम्रो उखु र उद्योगको चिनीको मूल्य दुबै निर्धारण गरिने बेला किसानका कुरा सुनिदैन । तर दुई वर्षअघिका वर्षहरुमा भुक्तानी लिन महिनौंमात्र नभइ वर्ष दिनभन्दा बढी समय भौतारिनु परेको पीडामा अबभने मलहम लागेको कुशवाहा बताउनुहुन्छ ।

यसपालि किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मुल्याङ्कनका आधारमा कमसेकम ७०० रुपैयाँ प्रतिक्विण्टल पाउनु पर्ने माग गरेका थिए । तर सरकार र उद्योगबीचको सहमतिले ६१० कायम भएको हो । जसमध्ये रु. ५४० उखुको मूल्यवापत उद्योगले दिने र ७० रुपैयाँ सरकारले अनुदानवापत दिने गरेको छ । किसानले उद्योगबाट पाउनु पर्ने सबै भुक्तानी पाएपनि अनुदानवापतको रकम पाउन बाँकी छ । यो रकम सरकारले कात्तिकमा दिदै आएको छ ।

उखुको भुक्तानी सहज भएपछि पछिल्ला दुई वर्षयता जिल्लामा खेती बढ्दै गएको छ । एकदशकअघि १८ हजार बिघासम्म पुगेको उखुखेती मूल्य र भुक्तानीमा पाइने हण्डरले स्वात्तै घटेर तीन वर्षअघिसम्म पाँच हजार बिघामा झरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीले जनाएको छ । पछिल्ला दुई वर्षयता भुक्तानी सरल बन्दै गएपछि क्रमशः खेती बढ्दै गएर यसपालि १० हजार बिघा नाघेको अध्यक्ष कुशवाहाको भनाइ छ । भुक्तानी सहज बन्नसँगै मूल्य निर्धारणमा वैज्ञानिक आधार तय गरिए खेती एकदशक अघिको अवस्थामा पुग्ने उहाँ बताउनुहुन्छ ।

यता एभरेष्ट चिनी उद्योग प्रशासनले भुक्तानी प्रकृया सहज र सरल गरिदै लगिएपछि खेती निकै बढेको जनाएको छ । यसपालि १२ हजार पाँच बिघामा गरिएको उखु उद्योगले खरिद गरेको वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिनुभयो । आउने वर्षमा यो क्षेत्रफल १० प्रतिशतले वृद्धि हुने ठाकुरको अड्कल छ । “खेती बढ्दै छ, अब २०८१/०८२ सिजनका लागि कति खेती लगाइएको छ, हामी सर्वे गर्दैछौ , चाँडै सर्वेबाट बढेको क्षेत्रफलको यकिन हुन्छ” ठाकुर भन्नुहुन्छ ।

उद्योगले महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा र रौतहटसम्मको उखु खरिद गर्दै आएको छ । यसपालि २०८०/०८१ सिजनमा उद्योगले २९ लाख चार हजार ५११ क्विण्टल उखु खरिद गरेको थियो । यसैगरी दुई लाख ६४ हजार ५९१ क्विण्टल चिनी उत्पादन गरिएको ठाकुरले बताउनुभयो । यसपालि गत पुस ४ गतेदेखि फागुन मसान्तसम्म उद्योगले उखु क्रसिङ् गरेको थियो । यसपालिको उखु खरिदवापत १४ हजार ४४४ जना किसानको खातामा जम्मा एक अर्ब ६१ करोड ९० लाख ६३ हजार रुपैयाँ भुक्तानी गरिएको उद्योग प्रशासनले स्पष्ट पारेको छ ।

अब भुक्तानी प्रकृया झनझन् सरलिकृत गरिदै लगिएपछि खेतीको क्षेत्रफल र किसान दुबै बढ्ने उद्योग प्रशासनको ठम्याइ छ । उद्योगले भुक्तानी सहज गरिदैमा खेती बढ्ने बताए पनि मूल्य निर्धारणमा वैज्ञानिक आधार नटेकिए केही वर्षभित्रै फेरि उखु खेती घट्ने किसान प्रतिनिधि बताउँछन् । उखुको मूल्य निर्धारणमा चिनीको मूल्य र खेती लागतको अनुपात आधार बनाइन पर्ने किसानको माग छ ।—

२०८१ बैशाख २७, बिहीबार १८:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय