महाेत्तरी  :  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रचुर पर्यटकीय सम्भावनाकाे भूमि रहेकाे बताउनु भएकाे छ । आज बिहीबार नेपाल हाेटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशले मिथिला नगरपालिकाकाे लालगढस्थित गाैतम हाेटलमा आयोजना गरेको सम्मान समाराेहमा सिंहले साे कुरा बताउनु भएकाे हाे ।

मधेश चुरे पर्वत श्रेेणिदेखि भारतीय सीमासम्म फैलिएकाे  भाैगाेलिक विविधतायुक्त प्रदेश रहेकाे उहाँकाे भनाइ छ । यहाँकाे विकास र समृद्धि पर्यटनक्षेत्रकाे समुचित सम्भार, संरक्षण र प्रबर्द्धनबाट गरिन सकिने ठहरका साथ आफू नेतृृत्वकाे प्रदेश सरकारले यस विषयलाई महत्वका साथ अघि बढाएकाे उहाँले बताउनुभयाे ।

”हामीले पर्यटन प्रबर्द्धनका कामलाई प्रदेशका आठ जिल्लालाई चार समूहमा राखेर अघि बढाउने निर्णय गरेका छाैं” मुख्यमन्त्री सिंहले भन्नुभयाे, ”यसभित्र नयाँ सम्भावित ठाउँकाे पहिचान र यसअघिदेखि नै विशिष्ट महत्व रहेका स्थलकाे संरक्षण र प्रबर्द्धनका कार्य अब अघि बढ्नेछन् ।”


मुख्यमन्त्री सिंहले मधेशमा भूगाेल, धार्मिकस्थल, कृषि, स्वास्थ्य र वन पर्यटनका मुख्य क्षेत्र बन्नसक्ने उल्लेख गर्नुभयाे । “हेर्नाेस् न, आँखा र सर्पदंशकाे उपचार लिन भारतकाे बिहारबाट निकै आउदा रहेछन् , हामीले यसलाई स्वास्थ्य पर्यटनसँग जाेड्न सक्नुपर्छ ।” यसैगरी चुरे शृङ्खलाका चनाैटे, बेसारेसहितका उच्च डाँडाहरु , मधेशकाे कृषि, धार्मिकस्थल र वनक्षेत्र पर्यटकीय सम्भावनाका ठाउँ हुने उहाँकाे भनाइ छ ।

मधेशमा जनकपुरधाम, राजविराज र सिमरासहित तीन विमानस्थल रहेका र यिनलाई मुलुकका विभिन्न ठाउँलाई हवाई मार्गमा जाेडेर व्यापार, व्यवसाय र पर्यटन प्रबर्द्धनमा जाेड्न सकिने उहाँकाे भनाइ छ । ” पर्वतीय क्षेत्रकाे अवलाेकन गर्न चाहने पर्यटकलाई हाम्रा विमानस्थलबाट १० मिनटमै अवलाेकन गराउन सक्छाै” सिंहले भन्नुभयाे, “हामीले यसका लागि आवश्यक पूर्वाधार विकास गर्न पर्छ ।” प्रदेश सरकार यी विषयमा गम्भीरताका साथ काम अघि बढाउने तयारीमा रहेकाे उहाँले स्पष्ट पार्नुभयाे ।

अहिले केही हुन्छ कि भन्ने जनतामा पलाएकाे आशा आफूले मर्न नदिने उहाँले प्रतिबद्धता जनाउनुभयाे । प्रदेश सरकार सञ्चालनमा यसअघिकाे कर्कामचारी कार्यशैली पनि राम्रा परिणाम प्राप्त गर्न समस्या बनेकाे उहाँकाे ठम्याइ छ । अब याेजनाबद्ध रुपले अघि बढेर परिणाममुखि काम गरिने सिंहले प्रतिबद्धता जनाउनुभयाे ।

कार्यक्रममा आयोजकका तर्फबाट मुख्यमन्त्री सिंहलाई नेपाल हाेटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरालाल गाैतमले अभिनन्दनपत्र प्रदान गर्नुभयाे । कार्यक्रममा मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापा, मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथाेकी र महासङ्घका संरक्षक सल्लाहकार विजय झुनझुनवालाले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे ।

२०८१ असार १३, बिहीबार २०:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय