महोत्तरी : महोत्तरीको जिल्ला सदरमुकामसमेत रहेको धार्मिक नगरी जलेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम एबं करिब ७० करोडको अनुमानित आयव्ययको बजेट प्रस्तुत गरेको छ । जलेश्वर नगरपालिकाको सोमबार सुरु गरेको १३ औं नगरसभा (नगर अधिवेसन) मा कार्यवाहक नगरप्रमुख रवीन्द्र यादवले नीति तथा कार्यक्रम एबं ६९ करोड ८१ लाख ९२ हजार ५०० को अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो ।

प्रस्तुत नीति तथा कार्यक्रम एबं बजेटमा कृषिलाई प्राथमिकता दिइएको छ । आत्मनिर्भर कृषि प्रणाली अवलम्वन गरी पछिल्लो पुस्ताका युवालाई कमाउन विदेश जान पर्दैन भन्ने विश्वास जगाउनु यो बजेटको ध्येय भएको कार्यवाहक नगरप्रमुख यादवले बताउनु भएको छ । यसैगरी नीति तथा कार्यक्रम बजेटमा सामाजिक सुरक्षामा सहज पहुँच ,अत्याधुनिक सञ्चार प्रविधिमा पहुँच वृद्धि , उद्यमशिलता विकास र आन्तरिक रोजगारी अभिवृद्धि , पूर्वाधार विकास, गरीबी न्यूनीकरण ,दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभुति, स्वास्थ्य तथा शिक्षालाई महत्वका साथ उल्लेख गरिएको छ ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्येको जलेश्वर नगरपालिकाले निर्धारित तालिकाभन्दा एक साता ढिलो नगरसभा आयोजना गरेको हो । सरकारले स्थानीयतहलाई असार १० गतेभित्र सम्बद्ध तहको गाउँ/नगरसभा आयोजना गरेर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरीसक्नुपर्ने तालिका दिएको छ ।

जिल्लाका १३ स्थानीयतहले असार १० भित्रै आआफ्ना तहका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरीसकेका छन् । जिल्लाको सोनमा गाउँपालिकाको गाउँ अधिवेसन भने अझै अनिश्चित छ ।

२०८१ असार १८, मंगलवार २०:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय