
महोत्तरी : मटिहानीमा यो साता ४१ हजार बिरुवा रोपिएका छन् । मटिहानीमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ कार्यक्रमअन्तर्गत असार अन्तिम सातामा ४१ हजार बिरुवा रोपण गरिएका हुन् ।
नगरक्षेत्रमा यस अभियानअन्तर्गत १० हजार उन्नत जातका केरा रोपिएको छ । यसैगरी रुख कटहर, बकाइनो र इपिलिपिलसहित २१ हजार बिरुवा रोपिएका मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । एक साताअघि मटिहानीमा १० हजार कागतीका नयाँ बिरुवा रोपण गरी सकिएको छ । असार अन्तिम साताको प्रारम्भसँगै थालिएको अभियानमा ३१ हजार नयाँ बिरुवा रोपिएका हुन् ।
साना किसानको जीवनस्तर उकास्न हेफर इण्टरनेशनलसँगको सहकार्यमा किसानलाई फलपूmल र घाँस प्रयोजनका लागि अहिले बिरुवा उपलब्ध गराइएको मटिहानी नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । “हामीले गरिब किसान पहिचान गरेका छौं, अहिले उनीहरुको आर्थिक अवस्था उकास्न गाई, भैंसी र बाख्रा पाल्न प्रोत्साहन गरिएको छ, पछिल्लो पटक रोप्न दिइएको बिरुवामा घाँस प्रयोजनका २१ हजार रहेका छन्” कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा भन्नुहुन्छ, “यसैगरी उनीहरुलाई यसअघि आँप, लिची, कागतीका बिरुवा रोप्न लगाइएको छ ।”
नगरक्षेत्रका साना किसानलाई उपार्जनमा सघाउ पुर्याउन मटिहानी नगर कार्यालयले पछिल्ला पाँच वर्षयता अन्नबाली (धान, गहुँ)को उन्नत बीउ, फलपूmल र घाँसका बिरुवा वितरण गर्दै आएको छ । “हाम्रो ध्येय साना किसानको आर्थिक गतिविधि बढाउनसँगै फलपूmल, मासु , दूध र अन्नबालीमा आत्मनिर्भर हुनु हो” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “यसका लागि हामीले कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाबद्ध काम थालेका छौं ।”
नगरपालिकाले अन्नबालीका बीउ, फलपूmल र घाँसका बिरुवाका अतिरिक्त किसानलाई आधुनिक कृषि ज्यावल पनि उपलब्ध गराउँदै आएको छ । यसैगरी आकासे पानीका भरको खेतीलाई सिँचाइमा आत्मनिर्भर बनाउन बोरिङ्ग जडान धमाधम गरिएका छन् ।
म्टिहानी तरकारी र आँप खेतीका लागि कहलिएको ठाउँ हो । यसैगरी यहाँ सघन रुपमा मखान (पोखरीको पानीमा लगाइने फल विशेष बाली) खेती पनि हुँदै आएको छ । यी उत्पादनको बजारिकरण गर्न चाहिने कृषि उत्पादन टिपेर राख्ने टोकरी, तौलने प्रयोजनका लागि डिजिटल तराजु , वर्षाबाट जोगाउन त्रिपाल र बोरा सिउने फलामे सियोसहितका सामग्री परियोजनाको सहयोगमा नगरपालिकाले किसानलाई उपलब्ध गराउँदै आएको छ । यसका अतिरिक्त पशुबस्तुको नियमित स्वास्थ्य परीक्षणको चाँजो पनि मिलाइएको नगरप्रमुख मण्डल बताउनुहुन्छ ।
परियोजना र नगर कार्यपालिकाको कार्यालयको सहयोगले आपूmहरुलाई आर्थिक उपार्जनमा निकै सघाउ पुगेको यहाँका किसान बताउँछन् । “हामीमा अब गर्दा हुन्छ भन्ने विश्वास जागेको छ” मटिहानी-७ का किसान वैजनाथ कापर भन्नुहुन्छ । किसानले प्राप्त सहयोगलाई निरन्तरता दिदै अब आफ्नै नगरमा चिस्यानघर बनाइ दिन नगर नेतृत्वसँग माग गरेका छन् ।
“नगरपालिकाको भरथेग र सहयोग पाएका छौं, अब कोल्डस्टोर (चिस्यानघर) चाहियो” मटिहानी-७ कै भदैया मण्डल भन्नुहुन्छ, “यो बनेपछि हामी आफ्ना उत्पादन थन्क्याएर राम्रो बजार भाउ पाउने बेला बेच्न सक्नेछौं ।”