
बर्दिबास (महोत्तरी) ३ साउन ।
मधेशमा मुसहर जाति समुदायलाई ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ आहानका लागि उभ्याइन्छ । हुनपनि गुजाराको सहारा कृषि मजदुरी पेसाका मुसहर एक दिन बनी गर्न (मजदुरी गर्न) नजाने हो भने साँझमा घरको चुल्हो बल्दैन । ‘कमाइ ल्यायो, भुटी खायो’ मुसहरको जीवन पद्धति झै नै बनेको छ ।
आम रुपमा पराले झुप्रो र त्यसले ओगटेको जग्गाबाहेक देखाउने सम्पति मुसहरको देखिदैन । हातपाखुरी चलुञ्जेल बनीबुतो गर्ने , पाखुरी चल्न छाडेपछि ईश्वरकै नाउँमा यिनको जिन्दगी चल्छ ।
यस्तो परिवेशका मुसहरका लागि एकमुष्ट एकलाख ठूलो रकम हो । यो रकम पाइँदा सपना हो कि विपना भन्ने खुट्याउन महोत्तरीको बर्दिबास-१२ बिजलपुरा चल्कीटोलका परीक्षण सदालाई केही बेर लाग्यो । परीक्षणले एकलाखको चेक बुझेपछि कैयनपटक आँखा मिच्नु भयो । “ओहो ! साँच्चै पो रहेछ” चेक ओल्टाइपल्टाइ बस्तीका पढ्नेगुन्नेलाई देखाएपछि उहाँले ढुक्क हुँदै भन्नुभयो ।
पत्नी रामरती सदाको मृत्युले वियोगमा रहेका सदालाई अहिले एकलाखको चेक दुःख बिस्र्याउने सहारा बनेको छ । “के गर्नु हजुर, हामी गरिबको एकअर्काको सहारा भनेकै घरका परिवार हुन् , बुढी मरेर गयो, अब कसले हेर्ला भन्ने लाग्थ्यो, एउटा सहारा त पाइयो” परीक्षणले बिमावापत पाएको एकलाख रकममा पत्नीवियोग भुलाउने प्रयत्न गर्दै भन्नुभयो ।
बर्दिबास नगरपालिकाले अति विपन्न तथा सिमान्तकृत समुदायमा पर्ने मुसहरको सामुहिक लघु जीवनबिमा गत चैतदेखि अभियानकै रुपमा गरी दिएपछि परीक्षणलाई पत्नीवियोगको दुःखको बेला सहारा मिलेको हो । चैत पहिलो साता बर्दिबास-१४ को मुसहर बस्तीबाट थालिएको यो अभियानअन्तर्गत गत वैशाख २१ गते बर्दिबास-१२ चल्कीका १८ वर्षदेखि ५९ वर्ष भित्रका २०८ जनाको तीन वर्षे सामुहिक जीवनबिमा भएको थियो । लिवर्टी लाइफ इन्स्योरेन्स कम्पनी बर्दिबास शाखामा गरिएको मुसहर समुदायको बीमा रकम एकमुष्ट बर्दिबास नगरपालिकाले जम्मा गराएको हो ।
अहिले बर्दिबास नगरपालिकाको यो अभियानबाट लाभान्वित हुने मुसहर समुदायका परीक्षण पहिलो व्यक्ति हुनुभएको छ । बिमा रकम भुक्तानी प्रकृया भण्झटिलो हुने आम प्रतिकृयाबीच लिवर्टी लाइफ इन्स्योरेन्स कम्पनी बर्दिबास शाखाले बस्तीमै पुगेर परीक्षणलाई एक लाख रकमको चेक बर्दिवास नगरपालिकाका उपप्रमुख तारादेवी महतो र प्रवक्ता विजयकुमार महतोका हातबाट प्रदान गराएको हो । गत असार-२ गते मृत्यु भएकी रामरतीका पति परीक्षणले एक महिनाभित्रै रकम प्राप्त गर्नुभएको हो ।
“हामी मुसहर समुदायलाई जीवनबिमाको महत्व कामबाटै देखाउन चाहान्थ्यौ, रामरतीको मृत्युपछि आवश्यक कागजात जुटाएर रकम दिन उहाँ (परीक्षण)को घरै पुग्यौ” लिवर्टी लाइफ इन्स्योरेन्स कम्पनी बर्दिबास शाखाका प्रबन्धक रवीन्द्रकुमार मिश्र भन्नुहुन्छ, “रकम हातमा परेपछि मुसहर समुदायमा जीवनबिमाबारे सकारात्मक चासो बढेको पाएका छौं ।”
आपूmले थालेको सानो कामले अहिले विपन्न मुसहर समुदायका लागि भरोसा बनेको देख्दा कामप्रति सन्तोस लागेको बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीको प्रतिकृया छ । बर्दिबास नगरक्षेत्रका ३०० बढी सङ्ख्याका मुसहरको तीन वर्षे अवधिको लघु जीवनबिमा भएको छ ।
अति सिमान्तकृत मानिने मुसहर समुदायका लागि बर्दिबास नगरपालिकाले जीवनबिमाका अतिरिक्त उमेर पुगेर (२० वर्ष पुगेर) बिहे गर्ने मुसहर जोडीलाई ५० हजार नगद प्रोत्साहनवापत दिने गरेको छ । यो गत चैत ५ गते नगरप्रमुखको घोषणासँगै कार्यान्वयनमा आइसकेको बर्दिबास-१४ का वडाअध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता विजयकुमार महतोले बताउनुभयो ।
कुनै राजनीतिक वा सामाजिक अवसर भन्ने नै नबुझेका मुसहर पछिल्ला उपलब्धीबाट यी क्षेत्रबारे चासो राख्न थालेका छन् । “हजुर, विस्तारै बुझ्दैछौ, हाम्रालागि अवसर बन्दैछन्” बर्दिबास-१४ मुसहर बस्तीकी ७० वर्षीया मानकी सदा भन्नुहुन्छ, “अब हाम्रा सन्तानले धेरै कुरामा चासो बढाउने छन् ।”
जिल्लाका १५ वटै स्थानीयतहमा धेरथोर बसोबास रहेका मुसहर समुदायको जिल्लामा कूल जनसङ्ख्या पछिल्लो (२०७८) राष्ट्रिय जनगणनाको तथ्याङ्क अभिलेखमा २७ हजार ३५२ उल्लेख छ । यिनमा लेखपढ गर्न जान्ने (नाम लेखेर सही गर्न जान्ने) ५० पुग्दैनन् । यस समुदायबाट प्रवेशिका (अब माध्यमिक शिक्षा परीक्षा) उतिणर् गर्नेको सङ्ख्या १० भित्र र स्नातक त दुई/तीन जनाभित्र रहेका शिक्षा विकास समन्वय इकाई कार्यालय महोत्तरीले जनाएको छ ।
बर्दिबास झैं जिल्लाका अन्य स्थानीयतहमा पनि मुसहरका लागि आर्थिक, सामाजिक र राजनीतिक अवसरका लागि पहलकदमी बढ्न पर्ने भङ्गाहा-३ का सिमल सदा बताउनुहुन्छ । मुख्य रुपले आफ्नो समुदायका लागि शिक्षामा जोड दिन आवश्यक रहेको स्नातकतहको अध्ययन गर्नुभएका सिमलको भनाइ छ । “हाम्रो समुदाय धेरै कुरामा पछि छ, अवसर पनि हाम्रो समुदायले पाएन” सिमल भन्नुहुन्छ, “यो सबैको मुख्य जड अशिक्षा र सामाजिक चेतनाको कमी हो, त्यसैले हाम्रो समुदायलाई अघि बढाउन यसलाई प्राथमिक महत्व दिइन पर्छ ।”