बर्दिबास (महोत्तरी), २१ भदौ ।

“मैले पढ्ने कुरामा कहिल्यै पैसाको चिन्ता गर्नु परेन, अब फार्मेसी विषयको डिप्लोमा तह तार लगाउने ठाउँमा पुगेकी छु” बर्दिबास-११ ख्यरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहु प्राविधिक शिक्षालयमा फार्मेसी विषयको अन्तिम वर्षको अध्ययन जारी राखेकी बर्दिबास-३ गौरीडाँडाकी सम्झना वर्माशाखा भन्नुहुन्छ, “पद्म शमशेर स्मृति प्रतिष्ठानले मेरो शैक्षिक शुल्कको पूरै भार उठाइदिएपछि ढुक्क भएर पढ्न पाएकी छु ।”

दलित भनिने सार्की जाति समुदायकी वर्माशाखाजस्ता प्राविधिक धार र वाणिज्य तथा शिक्षा सङकायमा स्नातक गरीरहेका समेत् अहिलेसम्म २७ जना छात्रछात्राको शैक्षिक अभिभावकत्व प्रतिष्ठानले उठाएको छ । यी सबैको शैक्षिक शुल्कको भार प्रतिष्ठानका तर्फबाट बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले उठाउनु भएको छ ।

“बा कहाँ ? आमा कहाँ ? अगाडि पढ्न सकुँलाजस्तो लागेको थिएन” आफ्नोभन्ने घर नभएकी बर्दिबास-१ मा डेरा गरी बसेकी कृति महत भन्नुहुन्छ, “तँ आँट, सघाउने तेरा अघि आइपुग्छ भन्ने सुन्थे, मलाई त्यस्तै भयो, प्रतिष्ठानले मेरो पढ्ने रहर पुरा गरायो ।” महत बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयमा प्राविधिक धारको बालीविज्ञान विषयमा डिप्लोमा तहको अध्ययन गरीरहनु भएको छ ।

विक्रम सम्वत् २०७७ सालदेखि आफ्ना स्वर्गीय पितामाताको स्मृतिमा बर्सेनि नयाँ शैक्षिक सत्र सुरु हुने बेला भएपछि खड्काले प्रतिष्ठानका तर्फबाट छात्रवृतिको प्रकृया थाल्नुहुन्छ । यसक्रममा हालसम्म (२०८० को नयाँ सत्रसम्म) २७ जनाको शैक्षिक शुल्कको अभिभारा प्रतिष्ठानले उठाएको छ । “२०७७ देखि २०८० सम्मका २७ जना छन् , यसपालि (२०८१) का लागि छात्रवृतिमा तीन जनाको नाउँ छनौट भएको छ, अब यिनीहरुको उनीहरुले चाहेका शिक्षालयमा भर्ना पाउनेछन्” खड्का भन्नुहुन्छ, “यो कामले मलाई स्वर्गीय आनन्द दिएको छ , पढ्ने कुरामा सहयोगी हुन पाउँदा मज्जाको खुशी पाइँदो रहेछ ।”

नयाँ शैक्षिकसत्र सुरु हुनपूर्व खड्काको व्यस्तता बढ्छ । अभिभावक नभएर वा अर्थाभावले नै उच्च शिक्षा र प्राविधिक धारको सीपयुक्त शिक्षा पढ्न नपाएका हरुको खोजी गर्नु र उनीहरुलाई इच्छित विषय पढ्न सघाउन बस्तीबस्ती खोज्दै हिड्ने गर्नुभएका खड्काको शैक्षिक नयाँ सत्र सुरु हुनासाथ व्यस्तता बढ्ने गरेको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनसँगै खड्का नेतृत्वको पद्म शमशेर स्मृति प्रतिष्ठान बर्दिबासले प्राविधिक धारको शिक्षा पढ्न चाहनेका लागि छात्रवृति आवेदनको सूचना जारी गर्छ । त्यसलगत्तै आवेदकहरुको योग्यता परीक्षा लिने, नतिजा प्रकाशन गर्ने र उतीणर्मध्ये अत्यन्त कमजोर आर्थिक अवस्था र अभिभावकविहीन कोको छन् घरघरै पुगेर अनुगमन गरेपछि प्रतिष्ठानले छात्रवृति पाउनेको अन्तिम सूची प्रकाशन गर्ने गरेको छ । यसक्रममा सुरुदेखिका सबै प्रकृया स्थानीय प्रशासनका अधिकृत प्रतिनिधि, स्थानीयतहका शिक्षा शाखाका अधिकृत , स्वतन्त्र पत्रकार र शिक्षकहरुसम्मिलित छात्रवृति निणर्ायक समितिले गर्ने गरेको खड्काले स्पष्ट पार्नुभयो ।

आफ्नो घरको गरिबीले उच्चशिक्षा लिन नपाएको बताउने खड्काले पछिल्ला वर्षहरुमा थालेका व्यवसायबाट केही आर्जन हुँदै गएपछि आर्जनको निश्चित प्रतिशत प्रतिष्ठान कोषमा जम्मा गरेर त्यसैबाट विपन्न र अभिभावकविहीनहरुको पठनपाठनको खर्च व्यहोर्दै आउनुभएको छ । बर्दिबासचोकमा सञ्चालित होटल विनायक, विनायक बैङ्कुट र सगरमाथा हार्डवेयर पसल खड्काका ब्यापारिक प्रतिष्ठान हुन् । “खासमा विनायक होटलले मलाई प्रतिष्ठानको सङ्कल्पमा सघाएको छ” खड्का भन्नुहुन्छ, “जीवनसँगै मृत्यु जोडिएको सत्य र मर्दा चार हात कात्रोबाहेक केही साथ नजाने कुराले मलाई कमाइबाट केही पूण्य काम गर्नुपर्छ भन्ने चेत खुल्यो, यसमा मैले शिक्षालाई रोजे ।”

खड्का आफैं संरक्षक रहनु भएको प्रतिष्ठान उहाँका स्वर्गीय माता पद्मकुमारी र पिता शमशेरबहादुरका नाउँमा स्थापित संस्था हो । प्रचलित कानुनअनुसार दर्ता गरिएको यो संस्था शैक्षिक गतिविधिमा सघाउ पुर्‍याउने उद्देश्यले नै गठन गरिएको खड्का बताउनुहुन्छ ।

“मैले एसएलसी पास गरेपछि गरिबीकै कारण अघि पढ्न पाइन, यो कुराले मलाई घोची रहन्थ्यो, पछि केही आर्जन गर्नसक्ने भएँ , त्यसैले पढ्न अर्थाभाव भएका हरुलाई सघाउने निधोमा पुगें” खड्काले छात्रवृतिको नालीबेली खोल्दै भन्नुभयो । यस कुरामा आफ्ना स्वर्गीय पितामाताको इच्छा पनि पूरा गरेको सन्तोस मिल्ने गरेको खड्काको भनाइ छ । “मेरा बा आमा दुबैको को चौबिस घण्टाभित्र निधन भयो, निधनअघि बा आमाले गरिब र अनाथहरुलाई गर्न सकिछस् भने केही सहयोग गर्नु भन्नु भा’थ्यो, त्यो वचनले पनि मलाई झकझक्यायो ।”

खडकाले शैक्षिक अभिभावकत्व लिएका छात्रछात्राले आपूmहरुको परीक्षा अघिपछि उहाँले फोन गर्ने गर्नुभएको र चाडपर्वमा सम्झने गर्नुभएको बताएका छन् । शैक्षिक शुल्कको अभिभारामात्र नभएर उहाँ (खड्का) अन्य दुःखसुखका कुरा सुन्ने र निरन्तर वास्ता गर्ने घरकै अभिभावक सरह रहनुभएको अहिले निर्मल लामा बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनियरिङ्ग विषयको डिप्लोमा तहको अन्तिम वर्षका छात्र अमर रसाइली बताउनुहुन्छ ।

बर्दिबास नगरक्षेत्रलाई आधार बनाएर खड्काले सुरु गर्नु भएको छात्रवृतिले अहिलेसम्म चार जनाले प्राविधिक धारको डिप्लोमा तह उतिणर् गरी कोही उच्च शिक्षाका लागि र कोही कामका लागि विदेश गएका छन् । यिनीहरुको सफलताले आपूmलाई यस कार्यमा झन् उत्प्रेरित गर्ने गरेको खड्का बताउनुहुन्छ ।

शिक्षाक्षेत्रमा त्यसमा पनि प्राविधिक धारको पठनपाठन हुनपर्ने खड्काको धारणा छ । खड्काले साधारण कलेजका स्नातक तहका विद्यार्थीलाई पनि सघाउनु भएको छ । तर सीपयुक्त शिक्षाले आर्थिक रुपमा आत्मनिर्भर बनाउन र आकर्षक रोजगारीको अवसर दिनेहुँदा आपूmले प्राविधिक धारको पठनपाठनमा उत्प्रेरित गर्ने गरेको खड्का बताउनुहन्छ । “मेरो २०७७ यता बर्सेनि सालाखाला छात्रवृतिमा १५ लाख खर्च हुने गरेको छ” खड्का भन्नुहुन्छ, “तर मलाई खर्चको चिन्ता हैन, छात्रवृति पाएका हरुले राम्रो पढेर सीपयुक्त बनुन् भन्ने लाग्छ ।” अहिलेसम्म बर्दिबास नगरक्षेत्रलाई मात्र आधार बनाएका खड्काले अब छिमेकका स्थानीयतहमा विस्तार गर्ने सोच बन्दै गएको बताउनुभयो । यस क्रममा बर्दिबाससँग सीमा जोडिएका महोत्तरीका स्थानीयतह थप्ने गरी सोचिएको उहाँको भनाइ छ । यद्यपि यसबारे निणर्य नलिइएको खड्काले स्पष्ट पार्नुभयो ।

२०८१ भाद्र २१, शुक्रबार १६:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय