बर्दिबास, १६ माघ ।
“फेउर स जिनगीमे इजोत आयल” (फेरि जीवनमा उज्यालो फक्र्यो) मोतीविन्दुले टालिएको आँखाको शल्यकृया गर्नुभएकी बर्दिबास–१० खयरमाराको मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रफुल्ल हुँदै भन्नुभयो, “बुझलियै फेउर स हम पहिने सन देख पायब” (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु )।
पछिल्ला १० वर्षयता मोतीविन्दु जालोले आँखा टालिदा अँध्यारो भएको संसार अहिलेको शल्यकृयाले ज्योति फर्कने कुराले दुलारीको खुसीको सीमा छैन । देब्रे आँखाको शल्यकृया गरिएकी दुलारीको केही पछि दाहिने आँखाको पनि गरिन पर्ने चिकित्सकले सुझाएका उहाँले बताउनुभयो । केही दिनपछि नै आँखाको पट्टी हटाएपछि लगाउन कालो चश्मा पाउने कुरा पनि उहाँले बताउनुभयो ।
दुलारीजस्तै सोही बस्तीका ७० वर्षीय रामचन्दर सदा पनि आँखाको मोतीविन्दु हटाउने शल्यकृयापछि अब उज्यालो संसार देखिने आसले दङ्ग हुनुहुन्छ । “हेनर््स हजुर, हामी गरिबले यो अवसर पाउनु भनेको भगवान भेटेजत्तिकै हो” नेपाली राम्रो बोल्न जान्ने रामचन्दरले भन्नुभयो, “सित्तैमा हामी मुसहरलाई यो मौका हतपत्त कहाँ जुर्छ र हजुर, यो जसले गराइ दिनुभयो, उहाँलाई भगवानले हेरुन् ।” मुसहर मधेसमा स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिक अवसरबाट निकै पछि परेको अति सीमान्तकृत जाति समुदाय हो । दुलारी र रामचन्दरजस्ता अति विपन्न परिवारका आँखाको समस्या समाधान गरीदिन अहिले बर्दिबास आँखा अस्पतालको पहलकदमीमा इम्प्रुभिङ्ग लाइभ्स इन नेपाल नाउँको संस्थाले आर्थिक स्रोत जुटाइ दिएको हो ।
सोमबार र मङ्गलबार गरी १०० जनाको आँखाको मोतीविन्दुको जालो हटाउने शल्यकृया बर्दिबास जनसेवा अस्पतालमा सम्पन्न भएको छ । शल्यकृया गरिन आँखाका बिरामी यसपटक अत्यन्त गरिब बस्तीबाट परेका दुई दिने यो शिबिरको बर्दिबास आँखा अस्पतालका तर्फबाट समन्वय गर्नुहुने मकुन्दप्रसाद पौडेलले बताउनुभयो ।
“आफ्नै आर्थिक स्रोतले आँखाको उपचार र शल्यकृया गराउनै नसक्ने अत्यन्त विपन्न परिवारका सदस्यले यसपालि अवसर पाएका छन्” पौडेल भन्नुहुन्छ, “आँखाका बिरामीको सर्वेकै क्रममा अत्यन्त गरिब बस्तीमा मोतीविन्दुका बिरामी भेटेपछि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालसँग अनुरोध गरिएको हो, सो संस्थाले सदासयतापूर्वक प्रस्ताव स्वीकार गरीदिदा १०० जनाले आँखाको ज्योति पाएका छन् ।” दुई दिने यो शिबिरमा शल्यकृया गरिनेहरु अधिकांश बर्दिबास–१०, ११ खयरमाराका अति विकट चुरेकाछका बस्तीका गरिब परेका पौडेलको भनाइ छ । खयरमारा बर्दिबास मुख्यचोकबाट ४० किलोमीटर दुरीमा पर्छ ।
“हामी भनिन त बर्दिबास नगरकै छौं, तर बिरामी पर्दा हामीले पहिले पुग्ने ठाउँ ४० किलोमिटर छिचोलेर बर्दिबासचोक नै हो” बर्दिबास–१० की ७० वर्षीया जानकी यादव भन्नुहुन्छ, “धन्न यी डाग्डरबाबुले हाम्रो सम्झना गरेछन् र आँखाको जालो हटाउने मौका पाइयो ।” सोही बस्तीका ७५ वर्षीय सुरज यादव पनि मोतीविन्दुको शल्यकृयापछि फेरि संसार देखिने आसमा दङ्ग हुनुहुन्छ ।
शिबिरमा जिल्लाकै रामगोपालपुर, जलेश्वर र मनराशिशवा नगरक्षेत्रका मोतीविन्दुका बिरामी पनि लाभान्वित भएका छन् । “सोच्ने नै छली जे मुनायल आँइखक पर्दा फेरु उघरत” (सोचेकै थिइन, जालोले ढाकेको आँखाको पर्दा फेरि उघ्रला) रामगोपालपुर–४ की ६५ वर्षीया कमोधियादेवी बरही भन्नुहुन्छ, “दश साल स खेपी रहल अन्हारक पीडा आब सब भुलागेल” (दश वर्षदेखि खेप्दै आइएको अँध्यारोको पीडा अब सबै बिर्सियो) ।
दुई दिने मोतीविन्दु शिबिरका लागि पहिलो चरणमा बस्ती चयन, दोस्रो चरणमा आँखा जाँच र तेस्रो चरणमा शल्यकृयाको प्रबन्ध मिलाइएको बर्दिबास आँखा अस्पतालले जनाएको छ । तीनवटै चरणका लागि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालले पाँच लाख ५० हजार रकम उपलब्ध गराएको अस्पतालका स्रोतव्यक्ति शिबिरका समन्वयकर्ता पौडेलले जानकारी दिनुभयो ।
शिबिरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अर्जुन श्रेष्ठ नेतृत्वको सात सदस्यीय स्वास्थ्यटोलीले शल्यकृयाको काम सम्पन्न गरेको हो । शल्यकृया गरिनेहरुमा एकजना ५० वर्ष मुनिका र बाँकी सबै यो भन्दा माथिका छन् । अहिले एउटा आँखाको शल्यकृया गरिएका धेरैजसोको अर्को आँखाको पनि शल्यकृया गरिन पर्ने चिकित्सकको सुझाव छ । शल्यकृया गरिएका बिरामीमा ५५ पुरुष र ४५ महिला रहेका बर्दिबास आँखा अस्पतालले जनाएको छ ।