बर्दिबास, ३० वैशाख ।

महोत्तरीको बर्दिबासमा लागु औषध नियन्त्रण ब्यूरोको शाखा सञ्चालनमा आएपछि लागुऔषधका दुर्व्यशनी र कारोबारी धमाधम पक्राउ परेका छन् । बर्दिबास लागु औषध दुर्व्यशन र कारोबारको केन्द्र बन्दै गएको गुनासो बढी रहेबीच यहाँ ब्यूरोको शाखा सञ्चालनमा आएपछि यस्ता कारोबारी धमाधम पक्राउ परेका हुन् । पछिल्लो पटक आज मङ्गलबार बिपी राजमार्गको बर्दिबास—३ गौरीडाँडामा लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

लहानबाट काठमाण्डौतर्फ हिंडेको प्रदेश –०१ –००६ ख –७३०३ नम्बरको हाइस रोकेर पछिल्लो सिटमा बसेका यात्रुको चेकजाँच गर्दा प्लाष्टिकमा लुकाइ राखेको ब्राउन सुगर फेला परेको हो । पक्राउ गरिएका दुबै नुवाकोट जिल्लाको लिखु गाउँपालिका–६ का बासिन्दा राजेन्द्र डङ्गोल र दिपेश श्रेष्ठ रहेका ब्यूरोका इञ्चार्ज प्रहरी नायब निरीक्षक सरोज अधिकारीले जानकारी दिनुभयो । दुबैमध्ये दिपेश श्रेष्ठले लगाएको मोजामुनि पैतालामा लुकाएको अवस्थामा लागुऔषध राखिएको सानो प्लाष्टिकको पोका फेला परेको अधिकारीको भनाइ छ । लागुऔषध श्रेष्ठसँगबाट फेला परेपनि डङ्गोलसमेत मतियार रहेका ब्यूरोको दाबी छ । दुबै अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।

पक्राउ परेका दुबैसँग आवश्यक सोधपुछ र अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमको भनाइ छ । आज बरामद ब्राउनसुगरको तौल ५.३७ ग्राम रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । यसअघि २० दिन पहिले ब्यूरो टोलीले चुरे नजिक चेकजाँच गर्दा ४.७० ग्राम ब्राउनसुगरसाथ एकजनालाई नियन्त्रणमा लिएको थियो । सोही दिन २१ ग्राम ९७० मिलीग्रामसहित अर्का एक पक्राउ परेका थिए । ब्यूरो टोलीले वैशाख पहिलो सातामै ३५० टेबलेट लागुऔषध नाइटाजेपामसाथ दुई जनालाई पक्राउ गरेको थियो ।

यसैगरी ब्यूरोले गत चैतमा पाहाडि जिल्लाबाट भारततर्फ लाँदै गर्दा तीन पटकमा गरी १३ क्विण्टल लागुऔषध गाँजा बरामद गरी चालक र ओसार्न प्रयोग भएका मिनीट्रकसहित प्रहरीलाई बुझाइ सकेको छ । बर्दिबासमा दुर्व्यशनी र कारोबारीले डेरा जमाएरै बस्ने गरेका ब्यूरोको खोजमा पाइएको प्रनानि अधिकारी बताउनुहुन्छ । अहिले यी सबैविरुद्ध अदालतमा कार्वाही चलीरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

ब्यूरोको सकृयता बढेपछि बर्दिबासका आम अभिभावक अहिले राहत महसुस गर्दैछन् । घरकै छोराछोरी कहाँ कसको सङ्गतमा छन् बुझ्न नसकिएका बेला ब्यूरोको सकृयताले यहाँका दुव्र्यशनी अड््डा खोतलिदै गएर दुव्र्यशन र यसको कारोबारमा नियन्त्रण हुँदैजाने आम बर्दिबासबासीले आस सँगालेका छन् ।


२०८२ बैशाख ३०, मंगलवार १८:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय