महोत्तरी, १६ जेठ ।

नेकपा (एमाले) का उपमहासचिब प्रदीप ज्ञवालीले लोकतान्त्रिक गणतन्त्र घोषणा भएयता मुलुक समृद्धिको दिशामा अघि बढेको बताउनु भएको छ । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले बर्दिबासमा आज शुक्रबार सुरु गरेको पार्टीको प्रदेश स्कूल सञ्चालनसम्बन्धी कार्यशालाको उद्घाटन गर्दै ज्ञवालीले विकास सूचाङ्कले नै आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, बिजुली र आर्थिक गतिविधिमा गणतन्त्र घोषणा भएयता मुलुकले ठूलो फड्को मारेको उल्लेख गर्नुभयो ।

“काम प्रसस्त भएका छन् , तर ती कामको व्यवस्थित प्रचार भएन” ज्ञवालीले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्र पक्षधर काम गर्ने र यो जनताको व्यवस्था नरुचाउनेहरु फिजुल दुस्प्रचार गर्ने देखियो ।” जनताका पक्षमा भएका काम स्पष्ट रुपमा भन्न र बुझाउन नसकिएको उहाँको भनाइ छ । यद्यपि जनताका पक्षमा अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

पछिल्ला वर्षहरुमा पाटीभित्र पठन संस्कृति हराउँदै गएको उहाँले चिन्ता व्यक्त गर्नुभयो । “पढ्ने, छलफल गर्ने र वैचारिक पक्षलाई धारिलो बनाउँदै लाने प्रवृति अलि कमजोर भएको छ” पार्टी केन्द्रीय स्कूल विभागका प्रमुखसमेत रहनुभएका ज्ञवालीले भन्नुभयो, “अब पार्टीका सबै कमिटी र सदस्यबीच वैचारिक प्रशिक्षण घनिभूत बढाइन आवश्यक छ ।”

वैचारिक कामलाई व्यवस्थित गरिन पार्टीको मधेश प्रदेश कमिटीले यसपालि तीन तहको पाठ्यक्रम तयार गरी ६० हजार पार्टी सदस्यलाई प्रशिक्षित गर्ने योजना बनाएको कार्यक्रममा मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठले जानकारी दिनुभयो । उच्च तह, माध्यमिक तह र आधारभूत तह गरी तीन तहको पार्टी स्कूल सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । प्रदेशको पार्टी स्कूल विभागले माक्र्सवादी दर्शन, समाजवादी अर्थ व्यवस्था, समाजवादका आधार, समाजवाद एबं राज्य र कम्युनिष्ट पार्टीका बारेमा यसैअनुसार पाठ्यक्रम बनाएर प्रशिक्षण सञ्चालन गर्न लागिएको सो अवसरमा श्रेष्ठले जानकारी दिनुभयो । जनताको बहुदलीय जनवादी कार्यक्रमका विशेषता पाठ्यक्रममा समावेस रहेको उहाँले बताउनुभयो ।

दुई दिन सञ्चालन हुने उच्च तहको प्रशिक्षक प्रशिक्षण कार्यशालामा भूगोलको इञ्चार्जको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, प्रदेश विभागका सदस्यहरु , जिल्ला कमिटीका पदाधिकारी तथा जनसङ्गठनका प्रदेश अध्यक्षहरु सहभागी रहेका सो दलका प्रदेश सचिब मनोज पौडेलले बताउनुभयो । दुई दिने यो कार्यशालामा पार्टीका केन्द्रीय स्कूल विभागका सचिब घनश्याम कोइराला र सदस्य रामशरण प्याकुरेलसहितका प्रशिक्षक हुनुहुन्छ ।

प्रदेशभित्रको उच्चतहको प्रशिक्षक प्रशिक्षण कार्यशालापछि जिल्ला, संसदीय क्षेत्र, प्रदेशसभा क्षेत्र, स्थानीयतह र वडा एबं टोलसम्म यो क्रम सञ्चालन गरिने एमाले प्रदेश कमिटीको तालिका छ । भोलि शनिबार सम्पन्न गरिने कार्यशाला प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलको अध्यक्षतामा सञ्चालन भएको छ ।


२०८२ जेष्ठ १६, शुक्रबार २२:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय