भूमिका उपाध्याय,
महोत्तरी, २ असार ।
इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी) ले मोटरसाइकल चोर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । गत जेठका विभिन्न मितिमा बर्दिबास नगरक्षेत्रभित्रबाट चोरी भएका मोटरसाइकलसहित चोरी गर्ने गिरोहका चार जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासले आज सोमबार सार्वजनिक गरेको हो ।

चोरहरुले हिजो आइतबार सर्लाहीको हरिवनमा चोरीका मोटरसाइकल बिक्री गर्न दामकाम भइरहेको बेला चार जनालाई पक्राउ गरेको हो । नियन्त्रणमा लिइएका हरुमा सर्लाहीका तीन जना र मकवानपुरका एक जना छन् । यिनमा सर्लाहीको बागमती नगरपालिका–२ का २२ वर्षीय सुरेश घिसिङ् , बागमती–४ का २१ वर्षीय पद्म थिङ् हरिवन–१० का ३२ वर्षीय दिलबहादुर स्याङ्दान र मकवानपुरको बागमती गाउँपालिका–७ का २६ वर्षीय पासाङ तितुङ् रहेका इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बलमे जानकारी दिनुभयो । प्रहरीले यिनीहरुबाट बर्दिबासमा चाेरी भएका चार र थप एकसहित पाँचवटा मोटरसाइकल बरामद गरेको छ ।

गत जेठको ११ गतेदेखि २४ गतेबीचमा बर्दिबासमा चारवटा मोटरसाइकल चोरिएका थिए । ती घटनाको लिखित जाहेरी प्राप्त हुनासाथ इप्रका बर्दिबासले सादा पोसाकका प्रहरी परिचालित गरेर खोजी तिब्र बनाएको थियो । यसै क्रममा हिजो आइतबार हरिवनमा मोटरसाइकल बिक्रीका लागि दामकाम हुँँदैछ भन्ने सूचना पाउनासाथ त्यहाँ पुगेर चोरीमा संलग्न चार जना र पाँचवटा मोटरसाइकल बरामद गरिएको इप्रका बर्दिबासले जनाएको छ । बरामद मोटरसाइकलहरुमा दुईवटा २२० सीसीको पल्सर, एउटा १५० सीसी पल्सर, एउटा २०० सीसीको लक्क ब्राण्डको र एउटा कालो रातो रङ्को नाउ नचिनिएको रहेका छन् । पक्राउ परेका हरुको साथबाट मोटरसाइकलको लक तोड्ने साँचोसमेत् बरामद भएको प्रनाउ बलमे बताउनुभयो । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पछिल्ला केही वर्षयता मोटरसाइकल चोर्नेको निकै बिगबिगी बढेबीच प्रहरीले अहिले खोजीमा सफलता पाएको छ । चोरहरुको गिरोहले महोत्तरीमा चोरिएका मोटरसाइकल सर्लाही पुर्‍याउने र उता चोरिएका मोटरसाइकल यता भण्डार गर्ने गरेका पाइएको छ । गत वर्ष सर्लाहीमा चोरी भएका मोटरसाइकल प्रहरीले बर्दिबास–६ को एउटा घर खानतलासी गरी बरामद गरेको थियो ।


२०८२ असार ३, मंगलवार १४:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय