
गाेपाल बराल,
महोत्तरी, १९ असार ।
आफ्नो बस्तीमा सडक कालोपत्रे हुन थालेपछि महोत्तरीको मटिहानी नगरपालिका –४ र ५ का मझौरा, बिसनपुर र गोबरौराका सर्वसाधारण दङ्ग छन् । विकासको अवसरबाट निकै पर रहेका यहाँका सर्वसाधारण अहिले बस्तीमा धमाधम सडक कालोपत्रे गरिन थालेपछि दङ्ग देखिएका हुन् । अहिले यहाँका बासिन्दा एकआपसमा मात्र नभएर आउने पाहुनासँग पनि यो खुसी साटीरहेका भेटिन्छन् ।
“देखियौ , हमरो गाममें सडक पिच बैनरहल अई” (हाम्रो बस्तीको सडक पनि कालोपत्रे हुँदैछ) धमाधम कालोपत्रे भइरहेको सडकतिर देखाउँदै मटिहानी–४ मझौराका चन्देश्वर रजक भन्नुहुन्छ, “आब गामक रुख बदैलगेल” (अब बस्तीको रुप बदल्यो) । सडक कालोपत्रे हुन थालेपछि यी बस्तीका बासिन्दा नौलो मान्छे कोही देख्यो कि आफ्नोे ठाउँमा भइरहेको विकास कामको खुसी साट्छन् ।
सडक कालोपत्रे हुन थालेपछि बिसनपुरका इशाक कवारीको खुट्टा भुइँमा छैन । फुरुङ्ग पर्दै उहाँ भन्नुहुन्छ, “इन्तजार कर परैेछै, सबके दिन अबैछै” (पर्खन पर्दो रहेछ, सबका दिन आउँदा रहेछन्) । कालोपत्रे हुन थालेपछि बस्तीको सौन्दर्य बढेसँगै आफूहरुको जीवन पनि अब सहज बन्ने कवारीको आस छ । कालोपत्रे बनेपछि आकष्मिक उपचारका लागि चाँडै अस्पताल पुगिने र बजारु काममा पनि अब छोटो समयमा सजिलै आउजाउ गर्न सकिने उहाँ बताउनुहुन्छ ।
यसैगरी गोबरौराका शिव साहको पनि खुसी उच्छालिएको छ । अब आफ्नो बस्तीमा जस्तासुकै गाडी पनि सजिलै आउजाउ गर्ने र यो सुविधाले कृषि उपज सजिलै बजार पुर्याउन पाइने साह बताउनुहुन्छ । “आब तुरत तरकारी तोइडक कोनो बजार साइकलो स पहुँचजबै”(अब तुरुन्तै तरकारी टिपेर साइकलबाटै पनि सजिलै बजार पुगिन्छ )साहले खुसी व्यक्त गर्दै भन्नुभयो । कालोपत्रे हुन थालेपछि आफ्नो बस्ती ठूलाबडाको नजरमा पर्ने उहाँको भनाइ छ । सडक राम्रो नहुँदा कोही ठूलाबडा नआउने बस्तीमा यसबीचमा कालोपत्रेको काम थालिएसँगै मन्त्री, हाकिमहरुको आउजाउ बढेको साह बताउनुहुन्छ ।
सङ्घीय सरकारमातहतको सहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रमअन्तर्गत मटिहानी–४ को मझौरा प्रवेशद्वारदेखि बिसनपुरहुँदै मटिहानी–५ को गोबरौरासम्मको चार किलोमिटर सडकखण्डमा कालोपत्रे गरिन थालिएपछि यी बस्तीका बासिन्दा आफूहरुको दिन फिर्ने बताउँछन् । मुख्य रुपले आफ्नो उत्पादन सजिलै बजार पुग्ने र आपतविपदमा चाँडै गन्तव्यमा पुगिने यहाँका बासिन्दाको भनाइ छ । नगरपालिका क्षेत्रमा परेपनि पूरै ग्रामीण परिवेशका यी बस्तीका लागि कालोपत्रे अहिले केकेनआयो भन्ने परेको छ । यो कालोपत्रे सडकले तत्काल यी बस्तीका १५ हजार जनसङ्ख्या लाभान्वित हुने नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।
सहरी विकास तथा भवन निर्माण विभागले करअतिरिक्त नगरपालिकालाई उपलब्ध गराएको २७ करोड ९९ लाख ७४ हजार ५७७ रुपैयाँ उपलब्ध गराएमध्ये मझौरा–बिसनपुर–गोबरौरा सडक कालोपत्रेमा चार करोड खर्च हुने नगर कार्यपालिकाको कार्यालयको प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताउनुभयो । सडक विस्तार र कालोपत्रे गरिने कार्य अन्य वडाबस्तीमा पनि पुर्याइने योजना रहेको साहको भनाइ छ ।
वर्षौवर्षदेखि धुलो, हिलो र अव्यवस्थित सडकले यातायात, ब्यापार, स्वास्थ्यसेवा र शिक्षाको पहुँचमा सास्ती खेपी रहेका मझौरा, बिसनपुर र गोबरौराका बासिन्दाका लागि अहिले यो सडक कालोपत्रे कार्यक्रम निकै ठूलो उपलब्धी बनेको छ । यो कामले आमजनतामा देखिएको खुसीले आफूमा पनि उत्साह भरेको मटिहानी–४ का वडाध्यक्ष अब्दुर गफार राइन बताउनुहुन्छ ।
सडक कालोपत्रे कार्यको नियमित अनुगमन गरीरहनु भएका नगरप्रमुख मण्डलले केही दिनभित्रै यो काम सम्पन्न गरिने बताउनुभयो । नगरका बस्तीबस्तीसम्म कालोपत्रे सडक पुर्याउने लक्षसाथ काममा लागिएको उहाँको भनाइ छ ।
नगरमा बढेको पूर्वाधार निर्माणको कार्यले आफ्नो ठाउँ छिटै ‘स्मार्ट सिटी’ बन्ने मटिहानीबासीले आस सँगालेका छन् ।