बर्दिबास (महोत्तरी), ५ भदौ ।

आर्थिक अवस्थाले कमजोर परिवारका छोराछोरीको उच्च शिक्षाको गन्तव्य रहँदै आएको महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसलाई अब स्रोत साधन जुट्दै छ । विद्यार्थी थपिदै जाँदा ठाउँको अभाव खेपीरहेको क्याम्पसलाई हालै नौ बिघाभन्दा बढी जग्गा पाप्त भएको हो ।

विक्रम सम्वत् २०६४ बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको क्याम्पस पाँच/छ वर्षपछि बर्दिबास–१४ मा पाप्त छ कठ्ठा जग्गामा भवन बनाएर सरको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक यो क्याम्पसमा अहिले एक हजार २०० नियमित विद्यार्थी छन् । बर्सेनि विद्यार्थी सङख्या बढदै आएको क्याम्पसलाई थप भवन बनाउन ठाउँ अभाव भइरहेका बेला यसपालि नौ बिघा एक कठ्ठा नौ धुर जग्गा पाप्त भएको छ । पाप्त जग्गामा थप भवन, खेलमैदान, उद्यान र छात्राबासलाई पनि ठाउँ पुग्ने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमाल बताउनुहुन्छ । यो जग्गा साविक २५ नम्बर बहादुरगञ्ज–२ (ङ ) को कित्तानम्बर १७ र १८ बाट प्राप्त भएको क्याम्पसले जनाएको छ ।

“सबैभन्दा मुख्यपक्ष जग्गा हामीलाई पाप्त भएको छ , अब स्रोत, साधन र सहयोग जुटाएर आवश्यक संरचना बनाउन सक्छौं” अध्यक्ष हमाल भन्नुहुन्छ, “यस्ता संरचना निर्माणका लागि हामी आवश्यक समन्वय गरीरहेका छौं ।” क्याम्पसलाई पर्ति जग्गा बर्दिबास नगरपालिकाको सिफारिसमा जिल्लास्थित पमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा प्राप्ती सिफारिस समितिको निर्णयले पाप्त भएको हो । यद्यपि यसमा मन्त्री परिषदले निर्णय गर्ने अन्तिम प्रकृया बाँकी रहेको हमालले स्पष्ट पार्नुभयो ।

“जग्गा हामीलाई पाप्त भयो, क्याम्पसले प्राप्त जग्गामा मुख्यद्वार निर्माणसँगै घेराबेरा पनि गरीसक्यो” हमाल भन्नुहुन्छ, “नेपाल सरकारले निर्णय गरेपछि क्याम्पसले जग्गाधनी प्रमाणपुर्जा पाउने कुरा छ ।” सामुदायिक क्याम्पस भएको हुँदा सबैतिरबाट जग्गाका लागि प्राप्त सकारात्मक चासोले प्रकृया सहज रुपमा अघि बढेको अध्यक्ष हमालको ठम्याइ छ ।

महोत्तरीका बर्दिबास, भङ्गाहा, औरही र गौशाला नगरपालिका एबं धनुषाको मिथिला नगरपालिकाका आम सर्वसाधारण किसानका छोराछोरीको उच्च शिक्षाको गन्तव्य यो क्याम्पस रहँदै आएको छ । खासमा विभिन्न परिवेशले साथ नदिदा निकै पहिले प्रविणता प्रमाणपत्रतह उतीर्ण गरेर उच्च शिक्षा पढने रहर पूरा गर्न नपाएका छोरीबुहारीका लागि यो क्याम्पस वरदान भएको छ । क्याम्पसमा त्यसैले छात्रभन्दा छात्रा बढी छन् ।

“मधेशमा छोरी बुहारी बाहिर पढ्न पठाउन आर्थिक अभाव र सुरक्षाका कारण अभिभावक तयार हुँदैनन् , यहाँ क्याम्पस सञ्चालन भएपछि छोरीबुहारीलाई पढ्न सहज भएको छ” व्यवस्थापन समितिका सदस्य रामनरेश महतो भन्नुहुन्छ, “यही क्याम्पस भएर सामान्य गरिब परिवारका छोरीबुहारीले पढ्ने अवसर पाएका छन् ।” क्याम्पसमा अहिले कूल विद्यार्थीको ६० प्रतिशत हाराहारी छात्रा रहेका क्याम्पस प्रमुख चेतबहादुर खडकाले बताउनुभयो ।

पछिल्लो समय क्याम्पसलाई जग्गा प्राप्त भएपछि यसभेगका सर्वसाधारणमा पनि खुुसी छाएको छ । “अब हाम्रा सन्तानले पढ्न भौतारिनु परोइन, यहीं नै राम्राराम्रा क्याम्पस भवन बन्छन्‌” क्याम्पसको जग्गाप्राप्तीले हौसिनु भएका बर्दिबास–२ का बासिन्दा अटोचालक भोला महतो भन्नुहुन्छ, “हाम्रा सन्तान यहीं पढ्छन् ।”

मधेशका अधिकांश सामुदायिक क्याम्पस खस्कदै जाँदा यहाँभने अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो छ । घरकै सुतोपिठो खाएर स्नातकोत्तरसम्म पढ्न पाइने अवसरले बर्सेनि यहाँबाट गरिब निमुखाका छोराछोरीले पनि उच्च शिक्षा लिन पाएका भङ्गाहा–४ रामनगरका पुण्यदेव साह बताउनुहुन्छ । साहकी छोरी करिब १२/१३ किलोमिटर धाएर यहाँ स्नातक तहको पढाइ पूरा गर्दै हुनुहुन्छ ।

वाणिज्य र शिक्षा सङ्कायमा स्नातक र शिक्षा सङ्कायमै स्वास्थ्य र नेपाली विषयमा अहिले स्नातकोत्तरसम्मको पठनपाठन भइरहेको छ । अब स्नातकतहमा मानविकी सङ्काय र स्नातकोत्तरतहमा वाणिज्यको पठनपाठन स्वीकृतिका लागि त्रिभुवन विश्वविद्यालय प्रशासनमा पहलकदमी थालिएको अध्यक्ष हमालको भनाइ छ ।


२०८२ भाद्र ५, बिहीबार ०७:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय