
बर्दिबास, २१ भदौ ।
सामाजिक सेवाको क्षेत्रमा विश्वभरिमै सुपरिचित संस्था लायन्स क्लवका तीनवटा शाखाको आज बर्दिबासमा सपथ तथा पदस्थापन भएको छ ।
बर्दिबास–१ स्थित दीपक पार्टी पैलेसमा एक भव्य समारोहबीच लायन्स क्लव अफ बर्दिबास समाज, लायन्स क्लव अफ मिथिला (धनुषा) र लायन्स क्लव अफ मिथिला आदर्शका नयाँ नेतृत्वको सपथ र पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । तीनवटै लायन्स क्लव र यी तीनवटैका लियो क्लवका नयाँ नेतृत्वलाई लायन्स क्लव इण्टरनेशनल ३२५ एफ क्लवका गवर्नर केशरबहादुर भण्डारीले सपथ गराउनसँगै पदस्थापन गराउनु भएको हो ।
समारोहमा लायन्स क्लव अफ बर्दिबासका अध्यक्ष वैकुण्ठ देवकोटा, मिथिलाका अध्यक्ष शिव तिमलसिना र मिथिला आदर्शका अध्यक्ष गङ्गा बलम्पाकीसहितका पदाधिकारीले सपथ लिनसँगै पदस्थापन गर्नुभएको हो । यसैगरी लियो क्लव अफ बर्दिबास, मिथिला र मिथिला आदर्शका पदाधिकारीले पनि सपथ लिनसँगै पदस्थापन गरेका छन् ।
समारोहमा प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य भरतप्रसाद साहले सेवाका क्षेत्रमा लायन्सको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आफू आजैदेखि लायन्समा आबद्ध हुन चाहेको बताउनुभयो । सो अवसरमा लायन्स क्लव इण्टरनेशनल ३२५ एफ क्लवका गवर्नर केशरबहादुर भण्डारीले साहलाई समारोहमै लायन्समा आबद्ध गराइएको घोषणा गर्नुहुँदै संस्थाको प्रतीक चिन्ह लगाइ दिनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य साहले चाँडै महोत्तरीको गौशालामा लायन्स क्लव बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा बर्दिबासका नगरप्रमुख प्रहलादकुमार क्षत्री, मिथिलाका उपप्रमुख सुनितासिंह बुढाथोकी र बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्कासहितका वक्ताले तीनवटै लायन्स तथा लियो क्लवका पदाधिकारीलाई कार्यकाल सफलताको कामना गर्दै लायन्सको सेवाभावको सिद्धान्तलाई व्यवहारमा उतार्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । समारोहमा लाइनसमेत रहनुभएकी मिथिलाका उपप्रमुख एमजेएफ कोषमा एक लाख नगद प्रदान गर्ने घोषणा गर्नुभयो । समारोह लायन्स क्लव अफ बर्दिबास समाजका अध्यक्ष वैकुण्ठ देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।