महोत्तरी, १३ माघ । यही आउने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लास्थित सुरक्षा समितिले महोत्तरीका मतदानस्थलहरुको नियमित सुरक्षा अनुगमन गर्दैछ ।
जिल्लाका चार प्रतिनिधिसभा निर्वाचन क्षेत्रका २५८ मतदानस्थलको नियमित सुरक्षा अनुगमन र गस्ती बढाइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । जिल्लाका अधिकांश मतदानस्थल अति संवेदनशील र संंवेदनशील रहेका समितिले ठहर गरेको छ ।

“जिल्लाका २५८ मतदानस्थलमध्ये १६३ अति संवेदनशील र ८९ संवेदनशील रहेका हाम्रो (जिल्ला सुरक्षा समिति) को ठहर छ” प्रजिअ यादवले भन्नुभयो, “अहिले यस्ता मतदानस्थलहरुमा नियमित सुरक्षा अनुगमन र गस्ती बढाइएको छ ।” सबै मतदानस्थलमा नियमित गस्ती बढाएर सर्वसाधारणमा सुरक्षा प्रत्याभूति गराइने कार्य पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी यादवसहित अनुगमन टोलीमा जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान कार्यालयका जिल्लास्थित प्रमुख रहनु भएको छ । जिल्लाका तीन र चार नम्बर क्षेत्र भारतीय सीमासँग जोडिएका र कैयौं मतदानस्थल ठ्याक्कै दशगजा (नेपाल भारत सीमाक्षेत्र) सँगै जोडिएका हुँदा यस्ता ठाउँलाई अति संवेदनशीलमा वर्र्गीकरण गरिएको प्रजिअ यादवको भनाइ छ । यसैगरी यातायातको सहज पहुँच नभएका र विगतका अनुभवबाट विशेष रुपमा चिन्हित गरिएका केही अन्य ठाउँ पनि अति संवेदनशील र संवेदनशील वर्गीकरण गरिएको उहाँले बताउनुभयो ।

यसपालि हुने निर्वाचनका लागि मतदानस्थल पूर्ववत (२०७९ को निर्वााचनमा रहेका) कायम गरिए पनि मतदानकेन्द्र भने ३७ बढाएर ५३६ बनाइएका छन् । जसमा क्षेत्र नम्बर एकमा ५९ मतदानस्थलमा १३० मतदानकेन्द्र निर्धारण गरिएको छ । यसैगरी क्षेत्र नम्बर दुईमा ६२ मतदानस्थलमा १३३, तीनमा ७७ मतदानस्थलमा १४२ र चारमा ६० मतदानस्थलमा १३१ मतदानकेन्द्र रहने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निर्वाचनमा जिल्लाका चारवटै क्षेत्रमा गरी १३९ जना उमेद्वार प्रतिष्पर्धा गर्दैछन् । जसमा ८३ स्वतन्त्र र ५६ जना दलआबद्ध छन् ।


