बर्दिबास, २० माघ । विश्व शान्ति र समृद्ध नेपालकाे नारासाथ साइकल यात्रा थालेका यात्री आज मङ्गलबार महाेत्तरीकाे बर्दिबास आइपुगेका छन् । पूर्वकाे मेचीबाट पश्चिम महाकालीसम्मकाे यात्रा गत आइतबार थालेका सातजना साइकल यात्री आज तेस्राे दिन बर्दिबास आइपुग्नु भएको हो ।
विश्व शान्ति र भातृत्व, स्वास्थ्य सचेतना र समृद्ध नेपालकाे कामना यात्राकाे अभिष्ठ रहेकाे टाेली नेता काठमाण्डाैकाे कीर्तिपुरका बासिन्दा ४० वर्षीय कवि महर्जनले बताउनुभयाे । ‘वर्ल्ड साइकल टुर क्याम्पियन नेपाल’ संस्थामा आबद्ध यात्रीले आसन्न प्रतिनिधिसभा निर्वाचनबाट मुलुकले राजनीतिक स्थायित्व र समृद्धिकाे बाटाेमा अघि बढाेस् भन्ने बाटाेमा भेटिएका आम सर्वसाधारणकाे धारणा पाइएकाे बताएका छन् ।
आफूहरु आबद्ध संस्थाकाे १० औं वर्षगाँठकाे अवसर पारेर यसपालि ‘नेपाल साइकल यात्रा’ थालिएकाे टाेली नेता महर्जनकाे भनाइ छ । यात्रामा महर्जनका अतिरिक्त अन्य छ ललितपुरका हुनुहुन्छ । जसमा रविन्द्र बज्राचार्य, सरिता महर्जन, विकास शाक्य, निरु बज्राचार्य, भरत शाक्य र मञ्जु शाक्यकाे सहभागिता छ ।

यात्रीले पूर्वपश्चिम राजमार्ग आसपासका पर्यटकीय र धार्मिक महत्वका स्थलहरुकाे अवलाेकन गर्दै १५ दिनभित्र महाकाली पुग्ने लक्ष लिएका छन् ।
बर्दिबासमा आइपुगेका यात्रीलाई आज बर्दिबास उद्याेग वाणिज्य सङ्घका महासचिब उत्तमकुमार श्रेष्ठसहितका उद्याेगी व्यवसायीले स्वागत गर्नुभयाे । यात्रीहरुकाे टाेली आजै बर्दिबासबाट निजगढ पुग्ने टाेली संयाेजक महर्जनले बताउनुभयाे ।
बर्दिबास आइपुगेका यात्रीलाई यहाँका उद्यमी व्यवसायीले झापा, माेरङ्ग, सुनसरी, सप्तरी, सिरहा र धनुषासम्मकाे यात्रामा देखिएकाे चुनावी चहलपहलबारे जिज्ञासा राखेका छन् । यात्रा सम्पन्न गरिएका जिल्लामा निर्वाचनकाे राैनक बढ्दै गएकाे देखिएकाे यात्रीले छाेटाे प्रतिकृया व्यक्त गर्नुभयाे ।


