जलेश्वर, २५ माघ ।

महोत्तरीका वरिष्ठ पत्रकार वैद्यनाथ चौधरीको आज आइतबार निधन भएको छ । जिल्लाको पिपरा गाउँपालिका–७ को बनौली गाउँका बासिन्दा चौधरीको आज ६७ वर्षको उमेरमा आफ्‌नै घरमा निधन भएको हो । चौधरी लामो समयदेखि श्वाँसप्रश्वाँस स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।

नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखामा विगतमा विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएका चौधरी नेपाल प्रेस युनियनमा आबद्ध हुनुुहुन्थ्यो । जनकपुरबाट प्रकाशित हुने लोकपुकार साप्ताहिकमा लामो समय स्तम्भकार रहनुभएका चौधरीको निधनमा महासङ्घ महोत्तरी शाखाका अध्यक्ष महेशकुमार दासले आज शोक वक्तव्य जारी गर्दै महोत्तरीको पत्रकारिताले एउटा निष्ठावान अनुभवी अभिभावक गुमाएको बताउनु भएको छ ।

यसैगरी चौधरीको निधनमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रेस मञ्च महोत्तरी शाखाका अध्यक्ष सन्तोस सिंह, रामनारायण महतो, विशाल बस्नेत र गोपाल झाले शोक वक्तव्य जारी गर्नु भएको छ । जारी शोक वक्तव्यमा चौधरीप्रति शोक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।

स्वर्गीय चौधरीका पत्नी, छोरा/छाेरी, बुहारी र नातिनातिना छन् । स्व. चौधरीको आजै दिउँसो पैत्रिक गाउँमै अन्तिम संस्कार संस्कार सम्पन्न भएकाे छ।


२०८२ माघ २५, आईतवार २०:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय