बर्दिबास (महोत्तरी), १८ वैशाख ।
दूधको उचित मूल्य र समयमा भुक्तानी नपाइनसँगै बिक्री नहुने पशुपालक किसानको आम गुनासोबीच महोत्तरीको बर्दिबास नगरक्षेत्रमा सहरी अभियानअर्न्तगत गोठगोठबाटै दूध सङ्कलन थालिएको छ । नगर क्षेत्रका सहकारीलाई सुदृढ बनाउने र किसानका गोठगोठबाटै दूध सङ्कलन गर्ने उद्देश्यसाथ बर्दिबास नगर कार्यपालिकाको कार्यालयको अग्रसरतामा यहाँ यो अभियान थालिएको हो ।
बर्दिबास नगरक्षेत्रकै पूरानो किसान सहकारी संस्थामार्फत् दूध सङ्कलन कार्य गरिने व्यवस्था मिलाइएको छ । पहिले बर्दिबास साझा संस्था रहेको हाल किसान सहकारी संस्थामा परिवर्तित यस संस्थामार्फत् दूध सङ्कलन र वितरण व्यवस्थित गर्न नगर कार्यपालिकाको कार्यालयले बिहीबार नै पाँच लाख रुपैयाँको सेयर सदस्यता लिदै दूध सङ्कलन, भण्डारण र वितरण व्यवस्थाप्रयोजनका सामग्रीसमेत् हस्तान्तरण गरेको छ ।
विक्रम सम्वत् २०३२ सालमा स्थापित साझा संस्था लामो समय निश्कृय रहेपश्चात् किसान सहकारी संस्थामा परिवर्तित भएको हो । संस्थालाई कृयाशील र किसान सरोकारसँग जोड्न अहिले नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त हौसला र सहयोगले प्रारम्भिक चरणमा गोठगोठबाट दूध सङ्कलन , वितरण र बेसार खेतीको अवधारणा विकास गरिएको अध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो । आफैं सेयर सदस्य भएर संस्थाको सदस्यता लिएर दूग्ध उत्पादन गर्ने किसानलाई दूधको मूल्यका अतिरिक्त प्रतिलिटर दुई रुपैयाँ अनुदानको सुनिश्चितता नगर कार्यपालिकाको कार्यालयले दिएको पोखरेलले स्पष्ट पार्नुभयो । दूधको मूल्य र अनुदान रकमको भुक्तानी किसानको बैङ्क खातामै गरिने व्यवस्था भएको पोखरेलले बताउनुभयो ।
सहकारीको बर्दिबास–१ स्थित कार्यालयबाट ३०/३५ किलोमिटर दुरीका चुरे काछका बस्तीबाट दूध सङ्कलन थालिएको छ । लगत्तै बर्दिबास नगरपालिकाका १४ वटै वडाका करिब ६० भन्दा बढी बस्तीका किसानकै गोठबाट दूध ल्याइने संस्थाले जनाएको छ । अहिले २०० लिटर सङ्कलन गरी दूधका विभिन्न परिकार (पनिर, खुवा, दही, दूध, घिउ) बनाएर उपभोक्तालाई सुलभ मूल्यमा वितरण थालिएको यो कार्यक्रममा केही दिनभित्रै ५०० लिटर सङ्कलन गरिने सहकारी संस्थाले जनाएको छ । यो व्यवस्थाले दूध उत्पादन प्रयोजनले पशुपालन गर्ने किसान उत्साहित भएका छन् ।
संस्थाको यो अभियान र नगर कार्यपालिकाको साथले अब किसान दूग्ध उत्पादनका लागि गाई, भैंसीपालनमा हौसिएका बर्दिबास–३ चुरेकाछको बस्ती कालापानीका अगुवा किसान वालकिशोर रायमाझीले बताउनुभयो । “हामी निकै उत्साहित भएका छौं, अब दूध बिक्री र समयमा अनुदानसहित मूल्य पाइने सुनिश्चितता भएको छ” रायमाझी भन्नुहुन्छ, “हाम्रो ठाउँ घँसिलो छ, अब दुधालु पशुबस्तु बढाउँछौं ।”

सहकारी संस्थालाई सुदृढ बनाइँदै पशुपालन र दूध उत्पादनलाई टेवा पुर्याउन र यो व्यवसायलाई प्रबद्र्धन गर्न नगर कार्यपालिकाले संस्थागत प्रयत्न थालेको नगरप्रमुख प्रहलादकुमार क्षत्रीको भनाइ छ । “अहिले पशुपालन र दूध उत्पादक किसानलाई प्रत्यक्ष लाभ र हौसला हुनेगरी अनुदानको व्यवस्था गरिएको छ” उहाँ भन्नुहुन्छ, “नगरपालिकाले किसानलाई अझै थप सुविधा कसरी बढाउन सकिन्छ भन्ने योजना बनाइ रहेको छ, हामी सधैं किसानका साथ रहने छौं ।” यो अभियानले सहकारीको क्षमता अभिवृद्धि हुने अपेक्षा सँगालिएको उहाँको भनाइ छ ।
किसान सहकारीले गोठगोठबाट दूध सङ्कलनका अतिरिक्त बेसार खेतीको अवधारणा पनि बढाएको छ । प्राङ्गारिक विधिबाट बेसार खेती गरिन सहकारीमार्फत् हुने ५० प्रतिशत अनुदान उपलब्ध गराइने र उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने जिम्मा नगर कार्यपालिका कार्यालयले लिएको सहकारीका अध्यक्ष पोखरेलले बताउनुभयो । दूध र बेसार खेतीको उत्पादनमा बिचौलियाको चलखेल नरहनेगरी सोझै किसानलाई लाभान्वित बनाउन यो कार्यक्रमले सघाउ पुर्याउने नगरप्रमुख क्षत्रीको भनाइ छ । अहिले नगरपालिकाले विकटका बस्तीलाई बजारसँग जोड्न र उत्पादन सहजै बजार पुर्याउन ठाउँठाउँमा पुल बनाउने कार्यक्रम धमाधम बढाएको छ । अहिले दुई वटा पुल भर्खरै बनेका क्षत्रीले बताउनुभयो ।
बेसार खेती गर्ने किसानलाई बिउ खरिदका लागि निर्ब्याजी ऋणको व्यवस्था गरिएको संस्थाले जनाएको छ । यसपालि ३० बिघाजति बेसार खेती गर्ने किसानले कवुलियत गरेका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
अहिले सहकारीले सामुहिक लगानी र सहकार्य बढाउन र किसानको आर्जन वृद्धि गर्ने उद्देश्यसाथ थालेको यो अभियानबाट यहाँका सर्वसाधारण किसानले अब आफ्नो उत्पादनको बजार र मूल्य सुनिश्चित गर्नसँगै समयमै उत्पादनको रकम पाउने विश्वास सँगालेका छन् ।





