बर्दिबास (महोत्तरी), ६ जेठ ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अबका सरकार र दलहरुका काम टालटुल गरेर अघि बढ्ने अवस्था नरहेको बताउनु भएको छ । नेपाली काँग्रेस मधेश प्रदेशको आज बुधबार दुई दिने जरा अभियानको उद्घाटन गर्दै उहाँले परिणाममुखी कामका लागि दलहरुका आनीबानी र स्वरुपमा पनि अब व्यापक सुधारको आवश्यकता औंल्याउनु भएको हो ।

विक्रम सम्वत् २०७४ सालअघिसम्म जनताले पद्धतिको स्थायित्वका नाउँमा आफ्‌ना अपेक्षा सँगालेर राखेपनि त्यसयता परिणाममुखी काम चाहेका उहाँको भनाइ छ । “२०७४ पहिलेसम्म पद्धतिलाई संस्थागत र सुनिश्चित गरिने नाउँमा जनताले हामीलाई पर्खे , हेरे” थापाले भन्नुभयो, “त्यसयता भने जनतामा अब आफ्‌ना समस्याको सम्बोधन हुने आस थियो, तर धेरैजसो समय सरकार बनाउने र गिराउने खेलमा हामीले बितायौ ।” यसैको परिणाम गत निर्वाचनमा जनताको विद्रोह बोलेको उहाँले बताउनुभयो ।

सबैभन्दा मुख्य कुरा जनतालाई सुशासनको अनुभूति हुनैपर्ने पक्ष आत्मसाथ गर्न उहाँले आफ्‌ना पार्टी कार्यकर्तासँग अपिल गर्नुभयो । अहिले पनि प्रदेश र स्थानीयतहका कैयौं ठाउँमा सरकारको नेतृत्व गरीरहेका काँग्रेस कार्यकर्ताले अबको चुनावमा आफूले गरेका काम देखाएर जनतासँग मत माग्ने अवस्था बनाउन पर्ने उहाँको जोड छ । यसै प्रसङ्गमा सभापति थापाले मधेशमा काँग्रेस नेतृत्वकाे सरकारले नै निरन्तरता पाउने बताउँदै याे समयलाई सचेततापूर्वक जनताका काममा लगाउन मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग अनुराेध गर्नुभयाे ।

”प्रदेशमा काँग्रेस नेतृत्वको सरकार छ , यसले निरन्तरता पाउँछ । त्यसैले अब रुञ्चे गीत गाएर धर पाइन्न” थापाले भन्नुभयो, “काम देखाएर अबको निर्वाचनमा श्रेष्ठता हासिल गर्नपर्दछ ।” जनताका पक्षमा प्रदेश र स्थानीयतहका प्रतिनिधिले गर्ने काममा पार्टी नेतृत्व साथ रहने थापाले प्रतिबद्धता जनाउनुभयो । गत निर्वाचनको परिणामबाट चिन्तामा डुबेर होइन , नवचिन्तन गरेर अघि बढ्न पर्ने उहाँको भनाइ छ । सभापति थापाले आफ्‌ना नेता, कार्यकर्तालाई जनताको दुःखसुखमा साथ उभिन निर्देशन गर्नुभयो ।

कार्यक्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले मधेशमा काँग्रेसले मधेश आन्दोलनका एजेण्डालाई महत्वका साथ उठाउँदै सबैको अस्तित्वको स्वीकारोक्ति लिदै अघि बढ्न पर्ने उल्लेख गर्नुभयो । अब पार्टीलाई नवीनतम प्रविधिसँग जोडेर नयाँँ पुस्तालाई आकर्षण दिनसक्नु पर्ने शर्माको भनाइ छ । भेलामा महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री मुक्ता यादव, मधेश प्रदेशका पार्टी सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवसहितका नेताले सम्बोधन गर्नुभयो ।

पार्टीको नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको यो जरा अभियानलाई ‘‘ऊर्जा र विश्वासको नवीन अभियान’ नाउँ दिइएको छ । कार्यक्रममा मधेशभित्रबाट केन्द्रीय समिति, केन्द्रीय विभागमा प्रतिनिधित्व गर्ने सबै पदाधिकारी तथा सदस्यहरु, मधेश प्रदेश समितिका सबै सदस्य, प्रदेशअन्तर्गतका सबै जिल्लाका पार्टी सभापतिहरु, मधेश प्रदेशसभामा दलका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरु र स्थानीयतहमा पार्टीका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष/ उपाध्यक्षसहित २६५ जना सहभागी छन् । उद्घाटनसत्रपछि सहभागीबीच समूहगत छलफल हुने र बिहीबार छलफलको निष्कर्ष प्रस्तुतिसँगै मधेश घोषणापत्र जारी गरिदै कार्यक्रम समापन हुने तालिका छ ।

उद्घाटनसत्र पार्टीको नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मधेशका अध्यक्ष तथा पार्टीका मधेश प्रदेश उपसभापति चन्द्रशेखर यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

 


२०८३ जेष्ठ ६, बुधबार २१:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय