टुटेश्वर (महाेत्तरी), २३ असार ।
भगवान शिवकाे आराधना गरिने साउन महिना नजिकिदै गर्दा महाेत्तरीकाे बर्दिबास-५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर सजाइँदै छ । मन्दिर रहेकाे ‘मधेशकाे कैलास’ भनिने पाहाडी थुम्काका रुखहरु विभिन्न रङ्गले कलात्मक ढङ्गले रङ्गाइँदै छन् । साउने मेला पर्वमा पुग्ने श्रद्धालुलाई विशेष अनुभूति गराउन साजसजा, रङ्गराेगन र सरसफाइका काम बढाइएकाे टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिले जनाएकाे छ ।
यहाँ साैरमास र चन्द्रमास गणनाकाे साउनभरि धार्मिक मेला लाग्ने परम्परा छ । यसअनुसार यसपालि साैरमासकाे साउन-१ गतेदेखि सुरु हुने मेला चन्द्रमासकाे साउन पूर्णिमासम्म रहँदा भदाै १२ गतेसम्म रहनेछ ।
‘यहाँ वर्षभरि नै टाढाटाढाबाट श्रद्धालु आइरहन्छ्न् , साउन विशेष मेलाकाे अवसर हुन्छ’ समितिका अध्यक्ष राजाराम यादव भन्नुहुन्छ, ‘साउनका पनि साेमबार विशेष मानिन्छन् , साउने मेला विशेष बनाउन पहिलेदेखि नै साजसजा, रङ्गराेगन र सरसफाइका काम बढाएका छाै ।’
भगवान शिवकाे बासस्थान कैलास पर्वत मानिन्छ । यहाँकाे टुटेश्वरनाथ मन्दिर पाहाडी थुम्कामा अवस्थित हुँदा शिवकाे बासस्थानसँग जाेडेर याे पाहाडलाई ‘मधेशकाे कैलास’ भनिएकाे टुटेश्वरका बासिन्दा बताउँछन् ।

‘याे ठाउँ त्रेता युगमा मिथिलाका राजा शिरध्वज जनक र द्वापर युगमा अर्जुनले तपस्या गरेका सन्दर्भसँग जाेडिएकाे छ’ टुटेश्वरका बासिन्दा पूर्वीय दर्शन परम्पराका जानकार यतिराज काफ्ले भन्नुहुन्छ, ‘प्राचीन शिवलिङ्ग रहेकाे मान्यताले मन्दिरअवस्थित पाहाडी थुम्काेलाई शिवकाे बासस्थानसँग जाेडेर मधेशकाे कैलास भनिने गरिएकाे हाे ।’ भारतकाे देवघरस्थित वैद्यनाथधामलाई पुकारिए झैं टुटेश्वरनाथलाई पनि ‘नेपालकाे बाबाधाम’ भनिने गरिएकाे काफ्लेकाे भनाइ छ ।
पूर्वपश्चिम राजमार्गकाे टुटेश्वरचाेकबाट आठ किलाेमिटर वनक्षेत्र छिचाेलेर पुगिने याे धार्मिकस्थल ‘शिवकक्षेत्र’ रहेकाे अनुसन्धाता बताउँछन् । ‘याे ठाउँकाे परिवेस नै अपूर्व छ, माण्डवीगङ्गा नदी किनार, चारैतिर सघन वन, पाहाडी शृङ्खला र सदाबहार सुगन्धित फूलकाे बासनाले जाेसुकैलाई विशेष अनुभूति दिन्छ’ टुटेश्वरनाथ महादेवकाे उद्भवबारे नै स्नातकाेत्तर तहकाे साेध गर्नुभएका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजकरण महताे भन्नुहुन्छ, ‘त्रेता र द्वापर युगसँग जाेडिएका यहाँका सन्दर्भबारे विस्तृत चर्चा हुन सकेका छैनन् , यसबारे तीनै तहका सरकारबीचकाे समन्वयले काम बढ्न जरुरी छ ।’
यसअघि २०५२ सालमै टुटेश्वरनाथ मन्दिरकाे संरक्षण चासाे स्थानीय रुपमा देखिएपनि यसकाे समयाेचित विकास,सम्बर्धन र संरक्षणकाे विषयलाई मधेश प्रदेश सरकारले २०८० यता ध्यान दिन थालेकाे टुटेश्वरकै बासिन्दा सुरज राय बताउनुहुन्छ ।

‘मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंह र पर्यटन मन्त्री सकिल मिंञाले २०८० मा यस क्षेत्रकाे दुई/ तीन पटक नै अवलाेकन गर्नुभयाे’ राय भन्नुहुन्छ, ‘त्यसपछि नै याे ठाउँलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिन केही प्रयत्न थालिए ।’ तर पछिल्लाे समयमा त्याे चासाेले निरन्तरता पाउन भने नसकेकाे टुटेश्वरबासीकाे गुनासाे छ ।
त्रेता युगमा राजा शिरध्वज जनकका भाइ कुशध्वजकी छाेरी माण्डवी सहेलीहरुसाथ बिहार गर्न र नुहाउन यहाँ आउने गरेकी जनश्रुतिले नै नदीकाे नाउँ माण्डवीगङ्गा रहेकाे विश्वास गरिन्छ । यस्तै द्वापर युगमा अर्जुनले शिवकाे तपस्या गरेर किरातरुप शिवकाे दर्शन र पाशुपतास्त्र प्राप्त गरेका पुस्ताैंदेखि विश्वास सर्दै आएको बर्दिबास-५ चेरुका बासिन्दा नेपाल सरकारकाे सहसचिब सेवाबाट निवृत पूर्वीय दर्शनका ज्ञाता वाणिकराज काफ्ले बताउनुहुन्छ ।
यस ठाउँकाे संरक्षण र प्रचारका लागि स्थानीयस्तरमा समुदायबाट भइरहेका प्रयत्न सकारात्मक भएपनि अपूग भएकाे टाढाटाढाबाट पुग्ने श्रद्धालु बताउँछन् ।
‘अहिले साउनेमेलाकाे अवसरमा स्थानीयले थालेका प्रयत्न मेलाकेन्द्रितमात्र हुन्’ आज मङ्गलबार बिहान दर्शन गर्न पुग्नुभएकी हेटाैडाकाे बासामाढीकी तुलसा काफ्ले न्याैपाने भन्नुहुन्छ, ‘याे आस्था र विश्वासकाे थलाे हाे, यहाँ हुने कामले केही हुँदैछ भन्ने भराेसा जगाउन सक्नुपर्छ ।’ राज्यकाे चासाे र उपस्थितिले यस्ताे भराेसा जाग्नसक्ने उहाँ बताउनुहुन्छ ।

साउनेमेला, महाशिवरात्री र बालाचतुर्दशी टुटेश्वरनाथका मुख्य धार्मिक मेला हुन् । खासगरी साउनेमेलामा यहाँ मधेशका मात्र नभएर वागमती र काेशी प्रदेश एबं भारतका बिहार , झारखण्ड र उत्तरप्रदेशसम्मका श्रद्धालु लाखाैलाखकाे सङ्ख्यामा पुग्ने गरेका छन् ।

मन्दिरअवस्थित थुम्काे परिसर ओरपर असङ्ख्य सर्प देखिएपनि यहाँ सर्पदंशका घटना कहिल्यै नभएका मन्दिरका पुजारी सिरी राय बताउनुहुन्छ । ‘तपाईं अहिले नै यताउता आँखा डुलाउनाेस् , विभिन्न जाति र रङ्गरुपका कैयन सर्प देखिन्छन्’ पुजारी राय भन्नुहुन्छ, ‘तर कहिल्यै यहाँ सर्पले टाेकेकाे सुनिएकाे, देखिएकाे छैन ।’ यी भगवान शिवले लगाउने मालामा सजिने गरेका यहाँ विश्वास गरिने उहाँकाे भनाइ छ ।

टुटेश्वरनाथ महादेवकाे दर्शन र प्रार्थनाले मनका क्लेश मेटिने, सबैप्रति समभाव बढ्ने र शान्तिकाे अनुभूति मिल्ने गरेकाे पछिल्ला चारदशकदेखि साउनमा १८ किलाेमिटर दुरी घस्रेर पार गरी महादेवलाई जल चढाउँदै आउनु भएका गाैशाला-४ रजखाेरका ७५ वर्षीय वासुदेव महताे बताउनुहुन्छ । महताे माण्डवीगङ्गा, स्वर्णमति र वरुणवति नदीकाे त्रिवेणी सङ्गममा जल बाेकेर २०४० सालदेखि १८ किलाेमिटर घस्रेर पार गर्दै शिवलिङ्गमा जल चढाउँदै आउनु भएको छ । यहाँकाे विकास र संरक्षणमा स्थानीयकाे चासाेसँग राज्यका प्रयत्न जाेड्न मुख्य रुपले स्थानीयतहले पहलकदमी लिनपर्ने महताेकाे सुझाव छ ।



