भूमिका उपाध्याय,
बर्दिबास । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले भोटेकोशी बाढी पीडितको समुचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आज आइतबार महोत्तरीको बर्दिबासमा सम्पन्न मधेश प्रदेश कमिटी सचिवालय बैठकले बाढीमा परि ज्यान गुमाएका हरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको उपचार र पीडितहरुलाई राहत तथा पुनर्स्थापना कार्य तत्काल प्रभावकारी रुपमा गर्न माग गरेको हो । बैठकले पार्टीको मधेश प्रदेश कमिटीका तर्फबाट एक लाख ५० हजार नगद प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सम्पन्न बैठकले अहिले किसानलाई मल,बीउ तथा कीटनासक औषधीको अभाव रहेको उल्लेख गर्दै यसको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराएको छ । यसैेगरी सर्वसाधारण उपभोक्ता महगीको मारमा परेका हुँदा यो नियन्त्रण गर्नसँगै एलपीजी ग्याँस, इन्धन र अन्य उपभोग्य बस्तुको सहज आपूर्तिका लागि बैठकले सरकारसँग माग गरेको छ । यसैगरी स्वास्थ्य बिमामा सङ्घीय सरकारले अनुदान कटौति गरेर सर्वसाधारणको उपचार प्रबन्धमा समस्या बढाएको उल्लेख गर्दै थप बजेट व्यवस्थापन गरी बिमा सेवा थप प्रभावकारी बनाउन माग गरेको छ ।
यसैगरी बैठकले मधेशमा बढ्दै गएको हत्याहिंसा र बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै आम नागरिकलाई शान्ति सुरक्षाको पूर्ण अनुभूति दिन सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी बैठकले मुलुकमै उत्पादन भएको बिजुलीमा जनताको ढाड सेक्नेगरी लगाइएको मूल्य अभिवृद्धि कर तत्काल फिर्ता लिन माग गरेको छ ।
बैठकले मधेशमा लागुऔषधको बढ्दो दुर्व्यशनप्रति चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन माग गरिएको छ । सरकार जनताको अभिभावक भएको हुँदा आम जनताको गाँस, बास , कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाको पूर्ण ग्यारण्टी हुन पर्ने एमाले मधेशले माग गरेको छ ।
यसैगरी सम्पन्न बैठकले बर्दिबास मेडिकल कलेजलाई यसअघि छुट्याइदै आइएको बजेटलाई यसपालि थप स्रोत सुनिश्चित गर्दै निर्माण कार्य तत्काल अघि बढाउन सरकारसँग माग गरेको छ । बैठकले भूमिहीन जनता बस्दै आएका घरबार भत्काएर बिल्लिबाठ पारिएको भन्दै घरबार विहीनलाई तत्काल बासको प्रबन्ध गर्दै मधेशका भूमिहीन सुकुम्बासीको जग्गा व्यवस्थापन गर्न माग गरेको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सो दलका मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठले वर्तमान मुलुकको अवस्था अपराध गिरोह र विदेशी चलखेलले अशान्त बन्दै गएको आरोप लगाउनुभयो । आफ्नो दल जनतामा व्याप्त निराशालाई चिर्दै आफूहरुप्रति जनताका टिप्पणीलाई आत्मसाथ गर्दै अघि बढ्ने श्रेष्ठले दृढता व्यक्त गर्नुभयो । बैठक प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो ।


