नेपालवाणी डटकम
जनकपुरधाम, भदौ ।
मधेश, सुदूरपश्चिम प्रदेश र काठमाडौं उपत्यकाका सिर्जनशील युवाहरुका लागि पटकथा लेखन तथा फोटो कथा कारिता सम्बन्धी निः शुल्क तालिम सञ्चालन हुने भएको छ । ‘परिवर्तनको आवाज’ परियोजना अन्तर्गत आयोजना हुन लागेको दुवै कार्यशालाका लागि आवेदन खुला गरिएको छ ।
युरोपियन युनियनको सहयोगमा एफसीए नेपालको नेतृत्व तथा ‘दलित लाइभ्स म्याटर ग्लोबल एलायन्स’ को साझेदारीमा सञ्चालित यस परियोजना अन्तर्गतका कार्यशालाहरु शान्ता फाउन्डेशनले सञ्चालन गर्नेछ । सीमान्तकृत समुदायका युवाहरुलाई सिर्जनात्मक तथा सांस्कृतिक क्षेत्रमा क्षमता विकास गराउने उद्देश्यका साथ कार्यक्रम ल्याइएको हो ।
परियोजनाका अनुसार पटकथा लेखन कार्यशाला १० दिनसम्म अनलाइन मार्फत सञ्चालन हुनेछ । जसमा सामाजिक विषय र व्यक्तिगत अनुभवलाई पटकथा, युट्युब, पोडकास्ट लगायत डिजिटल माध्यममा ढाल्ने सीपका साथै सिर्जनात्मक कामबाट आयआर्जन गर्ने सम्मका विषय सिकाइनेछ । सहभागीहरुले कार्यशालाको अन्त्यमा कम्तीमा एउटा मौलिक पटकथा तयार गर्नुपर्नेछ । त्यस्तै, ५ दिने प्रत्यक्ष सहभागितामा आधारित हुने फोटो कथाकारिता कार्यशालामा फोटोग्राफीका आधारभूत सीप, प्रकाश व्यवस्था, दृश्य संयोजन, फोटो फिचर र नैतिक दृश्य कथा वाचनबारे व्यावहारिक अभ्यास गराइनेछ ।
१८ देखि ३५ वर्ष उमेर समूहका युवाहरू लक्षित यस तालिमका लागि कुनै पूर्व अनुभव आवश्यक नपर्ने आयोजकले जनाएको छ । कार्यशालामा महिला, दलित, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, यौनिक तथा लैङ्गिक अल्पसंख्यक एवं ग्रामीण क्षेत्रका युवाहरूलाई विशेष प्राथमिकता दिइनेछ ।
इच्छुक आवेदकहरुले आगामी २०८३ भदौ २१ गतेभित्र फारम भरिसक्नुपर्नेछ । यो तालिमले युवाहरुलाई आफ्ना कथा आफैं भन्न र सिर्जनात्मक क्षेत्रलाई पेसाको रुपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पटकथा लेखन कार्यशाला फारमः https://forms.gle/3nXWBzJQgAcyc2DS8
फोटो कथाकारिता कार्यशाला फारमःhttps://forms.gle/RLSc8rmTa5CcAXwD8


