नेपालवाणी डटकम
जनकपुरधाम, भदौ ।
मधेश प्रदेश सरकारले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित आफ्ना नागरिकलाई राहत, उपचार तथा उद्धार व्यवस्थापन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण मृत्यु भएका प्रदेशका नागरिकका परिवार वा प्रचलित कानूनबमोजिमका नजिकका हकवालालाई प्रति मृतक एक लाख रुपैयाँ पारिवारिक राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढीका कारण घाइते भएका मधेसका नागरिकलाई प्रदेश सरकार मातहत सञ्चालित प्रादेशिक अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ । प्रदेशका स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्ने विशेषज्ञ सेवा वा अत्यावश्यक उपचार आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गरी उपचारको व्यवस्था मिलाउन प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहजीकरण गर्नेछ ।
यस्तै, बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा ७ हजार थान कम्मल र ७ सय सेट टेन्ट पठाउने निर्णय समेत भएको हो । एक करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोमार्फत नुवाकोट र रसुवाका जिल्ला प्रशासन कार्यालय, वाग्मती प्रदेश सरकार तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।
यसैगरी, स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा आवश्यक संशोधन गर्न तयार गरिएको संशोधन मस्यौदाउपर राय तथा परामर्श प्राप्त गर्न प्रचलित कानूनबमोजिम प्रदेश लोक सेवा आयोगमा लेखी पठाउने निर्णय भएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी, अनुमानयोग्य तथा न्यायोचित बनाउन तयार गरिएको ‘स्थानीय तहका कर्मचारीहरुको सरुवा मापदण्ड, २०८३’ स्वीकृत गरिएको छ ।


२०८३ भाद्र १७, बुधबार १७:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय