महोत्तरी, २० असोज ।
महोत्तरीमा आडवाडलक्षित सुरक्षा नीति लागु भएको छ । आज मङ्गलबार जिल्ला प्रशासन कार्यालय महोत्तरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दसैं, तिहार र छठलक्षित सुरक्षा प्रबन्ध नीति सार्वजनिक गर्दै लागु गरिएको बताउनुभयो ।
यसपालिको दसैं, तिहार र छठसम्मका लागि विशेष सुरक्षा प्रबन्धमा एक हजार ३३१ ज्ना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा ७४७ जना नेपाल प्रहरी र ५८४ जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ यादवको भनाइ छ ।
चाडवाडलक्षित सुरक्षा योजनामा गाडी गस्ती, राजमार्ग गस्ती, पैदल गस्ती, सादा पोसाकमा प्रहरी, घटना अनुसन्धान टोली, आकष्मिक जाँच र अनुगमनको जिम्मेवारीसहित सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
खासगरी दसैं र छठमा मधेशमा मेला र नाचगानका साँस्कृतिक कार्यक्रम बिनाअनुमति आयोजना गरिने विगत अनुभवबाट शिक्षा लिदै यसपटक त्यस्तो हुन नदिने जिल्ला प्रशासनको प्रतिबद्धता छ । “चर्को स्वरमा बजाइने डिजे सुरक्षाकर्मीले भेट्नासाथ नियन्त्रणमा लिनेछन्” प्रजिअ यादवले भन्नुभयो, “अनुमतिबेगर आयोजना गरिने मेला र नाचगान हुन दिइने छैन ।” पर्वका अवसरमा यस्ता कार्यक्रम आयोजना गरिने हो भने कमसेकम सात दिनपहिले अनुमति लिइसक्नु पर्ने स्थानीय (जिल्ला) प्रशासनले सबैसँग अपिल गरेको छ ।
यसअघिका अनुभवका आधारमा जिल्लाभरिमा ४२ ठाउँ अतिसम्वेदनशील सूचीमा राखिएको जिल्ला प्रशासनले जनाएको छ । चाडवाडका बेला ट्रफिक व्यवस्थापनका लागि अतिरिक्त जनशक्ति विन्यास गरिएको जानकारी दिदै प्रजिअ यादवले मादकपदार्थ खाएर सवारी चलाउने र अन्य ट्रफिक नियम पालना नगर्नेहरुमाथि तत्काल कार्वाही गरिने जिल्ला प्रशासनले स्पष्ट पारेको छ ।
एक फरक प्रसङ्गमा प्रजिअ यादवले रातु नदीको बाँध तीन ठाउँ फुट्दा जलमग्न भएको जलेश्वरको पानी निकास र बाँध मर्मतसम्भारको प्रबन्धका काम भइरहेको बताउनुभयो । नवरात्र सुरु हुनपूर्व नै नगरक्षेत्रमा जमेको बाढीको पानी निकास गरिएर निर्वाध हिडडुल र सवारीसाधन आवागमन हुने प्रतिबद्धता जनाउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्लास्थित प्रमुखहरुको उपस्थितिमा प्रजिअ यादवले चाडवाडलक्षित सुरक्षा नीति सार्वजनिक गर्नुभएको हो ।


