सर्लाही
असोज २८ गते,बुधबार
मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत कबिलासी नगरपालिका – १० चमेलीमाई मन्दिर नजिक मंगलबार राती ९ बजे मोटरसाइकलको ठक्कर बाट पैदल यात्री एक महिलाको मृत्यु भएको छ
मृत्यु हुनेमा कबिलासी नगरपालिका–१० निवासी मन्जु देवी झाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सलेमपुरबाट चमेलीमाई मन्दिरतर्फ आउँदै गरेको प्रदेश ३–०२९ प २३१५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका व्यक्तिहरूलाई ठक्कर दिएको थियो। दुर्घटनामा पुष्पा देवी झा, रुपेश झा र मोटरसाइकल चालक राजु मण्डल घाइते भएका थिए।
दुर्घटनामा टाउको, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेकी मन्जु देवी झाको अवस्था सुरुमा मध्यम रहेको थियो। उनलाई थप उपचारका लागि राति करिब ११ बजे वीरगन्ज पठाइएको थियो। बुधबार बिहान १ बजेर १७ मिनेटमा वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको छ।
मृतकको शव नारायणी अस्पताल वीरगन्जमा पोस्टमार्टम गरेपछि बुधबार दिउँसो २ बजेर १५ मिनेटमा उनका श्रीमान् नबोध झाले बुझेर लगेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते पुष्पा देवी झाको अवस्था गम्भीर रहेको छ। उनलाई बुधबार बिहान करिब २ बजेर १० मिनेटमा थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पुर्याइएको थियो।
त्यस्तै, मोटरसाइकल चालक राजु मण्डलको टाउको र आँखामा चोट लागेको छ। उनलाई सुरुमा मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार गरिएपछि थप उपचारका लागि जनकपुर पठाइएको थियो। बुधबार बिहान उनी प्रादेशिक अस्पताल जनकपुर पुगेपछि त्यहाँबाट जानकी हेल्थ केयरमा रिफर गरिएको थियो। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते रुपेश झाको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। सामान्य उपचारपछि बुधबार बिहान करिब ३ बजे उनी डिस्चार्ज भएर घर फर्किएका छन्। प्रहरीका अनुसार मोटरसाइकल चालक मण्डलले मादक पदार्थ सेवन गरेको पाइएको थियो भने उनीसँग सवारीसाधनसम्बन्धी कागजातसमेत थिएनन्।
दुर्घटनापछि मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


