सर्लाहीको पर्सा गाउँपालिका – २ संग्रामपुर पुलस्थित हुलाकी सडक खण्डमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार २०८३ असोज ३० गते दिउँसो १२ बजे महोत्तरीबाट सर्लाहीको मलंगवातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०६ बिएक्स ०४३५ को कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका – ५ जिरोमाइल निवासी नागेन्द्र साहका करिब २४ वर्षीय छोरा विकल साह गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि महोत्तरीस्थित जानकी एकेडेमी अस्पताल पुर्याइएकोमा दिउँसो १२:३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, कारमा सवार गौशाला नगरपालिका – ४ का करिब २२ वर्षीय शम्भुनाथ कुमार साह र सोही स्थानका करिब २३ वर्षीय शुभम कुमार शर्मा सामान्य घाइते भएका छन्। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ। दुर्घटना सम्बन्धि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


