नेपालवाणी डटकम
जनकपुरधाम, मंसिर ।
मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेश गर्न मिति २०८३÷०८÷०४ गते शुक्रबार दिनको ४ः०० बजेसम्मको समयसीमा प्रदान गरेको थियो ।
उक्त निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेश सभा सदस्यबाट बहुमतको दाबी पेश हुन नसकेपछि प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम बाराबाट प्रतिनिधित्व गर्नुहुने संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्ति भएको मितिले ३० दिनभित्र प्रदेश स भाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । मुख्यमन्त्री यादव दोश्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री सरोज कुमार यादवले नियुक्ति बुझ्दै १ हप्ताभित्र विश्वासको मत लिने बताएका छन् ।


