बर्दिबास (महोत्तरी), ७ मङ्सिर ।

बर्दिबासका उद्यमी रक्षा ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक कुमार भण्डारी सर्वोत्कृष्ट करदाता बनेर सम्मानित हुनुभएको छ । आन्तरिक राजश्व कार्यालय बर्दिबासले आफ्‌नो कार्यक्षेत्रभित्रका सर्वोत्कृष्ट करदाता भण्डारीलाई आज सोमबार राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित गरेको हो । यस कार्यालयको कार्यक्षेत्रमा महोत्तरी, सर्लाही र सिन्धुली जिल्ला छन् ।

भण्डारी यस वर्षको राष्ट्रिय कर दिवस–२०८३ को अवसरमा आर्थिक वर्ष २०८१/०८२ को कारोबारमा भुक्तान गर्नुभएको करका लागि सम्मानित हुनुभएको हो । सो वर्ष भण्डारीले आफ्‌नो कम्पनी रक्षा ट्रेडर्स एण्ड सप्लायर्सका तर्फबाट सो आर्थिक वर्षमा ७० लाख बढी कर चुक्ता गर्नुभएको कार्यालयले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७७/०७८ यता भण्डारीले आन्तरिक राजश्व कार्यालय बर्दिबासको कार्यक्षेत्रभित्र प्रत्येक वर्ष सबैभन्दा बढी करदाता सम्मान पाउँदै आउनु भएको छ ।

ठिक समयमा आफ्‌नो कारोबार पारदर्शी गर्दै रक्षा ट्रेडर्स एण्ड सप्लायर्सले नियमित कर दाखिला गर्नुले राष्ट्रिय विकासमा योगदान पुगेको कार्यालयका प्रमुख कर अधिकृत सुन्दर श्याम ठाकुरले सम्मानपत्र प्रदान गर्दै बताउनुभयो । आफ्‌नो कम्पनीको कारोबार प्रत्येक वर्ष बढ्दै हाल ७० करोडको सेरोफेरोको पुगेको सञ्चालक भण्डारीले बताउनुभयो । नियमित कर दाखिला गर्दै आउनुभएका भण्डारी बर्दिबास क्षेत्रका सामाजिक गतिविधिमा पनि सरिक रहँदै आउनु भएको छ । यसअघि बर्दिबास हेल्प फाउण्डेसनको अध्यक्ष रहीसक्नु भएका भण्डारीले बर्दिबास नगरक्षेत्रका विद्यालयमा अध्ययनरत निर्धन छात्रछात्रालाई छात्रवृति उपलब्ध गराउनु भएको छ । सो फाउण्डेसनको सहयोगमा नगरक्षेत्रका विद्यालयमा अध्ययनरत ५० जना छात्रछात्राले छात्रवृति पाएका छन् ।


२०८३ मंसिर ८, सोमबार २१:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय