जनकपुरधाम : जनकपुरधामस्थित नवजीवन अस्पतालमा रिपोर्टिङ्ग गर्न गएका पत्रकारमाथि प्रहरीले निर्घात लाठी बर्साउँदा पत्रकार घाइते भएको छ ।

प्रहरीले गरेको लाठी प्रहारबाट पत्रकार सन्तोष यादवसहित उनको साथी सिबेन्द्र रोहिता समेत घाइते भएका छन् । आफू पत्रकार भएको बताइरहँदा पनि प्रहरीले पत्रकारमाथि  लाठी बर्साएका हुन् ।

नवजीवन अस्पतालमा बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका १ निवासी ३५ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक पक्षधरले चिकित्सकको लापर्वाहीका कारण मृत्यु भएको भन्दै शव लगेका थिएनन् ।

उनीहरुले दोषी चिकित्सकलाई कार्वाही गरी क्षतिपूर्ती नदिएसम्म शव नउठाउने बताइरहँदा शुक्रबार साँझ पुगेको प्रहरीले शव बाहिर ल्याउन खोज्दा मृतकका परिवारले रोक्दा प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेका थिए । सोही बिषयको रिपोर्टिङ्ग गर्न गएका पत्रकारद्वय यादवमाथि प्रहरीले लाठी चार्ज गरेका हुन् ।

फोटो खिंचिरहेको मोवाइल समेत खोसेर प्रहरीले फोडिदिएको उनले बताए ।

पत्रकार यादव थाहा खबर डटकममा काम गर्छन ।

लाठी चार्जबाट घाइते भएका पत्रकारद्वको जनकपुरधामस्थित धनुषा अस्पतालमा उपचार भइरहेको छ ।

धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले पत्रकारमाथि लाठी प्रहार गरेको बिषयमा जानकारी नभएको बताउँदै यसबारे बुझ्ने काम भइरहेको बताए । 

उनले अस्पतालले महिलाको मृत्यु उपचारकै क्रममा भएको र कसैको गल्ती नभएको बताइरहँदा पनि मृतक परिवारले क्षतिपूर्ती वापत रकम माग्न गएको र नदिँदा शव उठाउन नचाहेकाले प्रहरी पुगेको बताए । उनले शवलाई त्यहाँबाट प्रादेशिक अस्पतालमा पुर्‍याउन प्रहरी टोली पुगेको बताए ।

२०७७ श्रावण ३०, शुक्रबार २२:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय