गोबिन्द महतो

जनकपुरधाम / कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका निमित्त महंगोमा स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको पाइएको छ । सप्तरी राजविराज, धनुषा जनकपुर र रौतहटको गौरमा कोरोना परीक्षणका लागि रियल टाइम पीसीआर मशिन सहित विभिन्न १४ थान उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको पाईएको हो ।
प्रदेश २ सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत आरडिटी–पीसीआरसँग सम्बन्धित उपकरण खरिदमा बजार मूल्य भन्दा धेरै २ करोड ८२ लाख १६ हजार १०० रुपैयाँमा खरिद गरेको छ । तर सोही मेशिन र उपकरण २ करोड ६९ लाख ९५ हजार ७०० रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्द गरिएको छ । खरिद प्रतिस्पर्धामा सहभागी भएका फर्म मध्ये सस्तोमा दिनेबाट खरिद नगरी महंँगो दररेटमा खरिद गरेर करोडौं रुपैयाँ भ्रष्टाचार गरेको पाईएको छ ।
पीसीआर परीक्षणमा प्रयोग हुने १४ सामग्री सहितका उपकरण सरकारले २ करोड ४९ लाख ७० हजार रुपैयाँमा किनेको छ । जसमा ३२ लाख ४६ हजार १०० रुपैयाँ भ्याट समेत जोडेर पूरै लागत २ करोड ८२ लाख १६ हजार १०० रुपैयाँ पर्न गएको छ । तर उल्लेखित सबै सामग्री राईनले कूल २ करोड ६९ लाख ९५ हजार ७०० रुपैयाँमा उपलब्ध गराउन प्रस्ताव गरेको भएपनि उनको बोलपत्र रद्द गरिएको छ ।
यसैगरी पछिल्लो पटक रौतहट गौरमा जडान गरिएको पीसीआर मेशिन एण्ड एक्स्ट्रयाक्सन सहितका स्वास्थ्य सामग्री खरिदमा समेत कम मुल्यको कम्पनीलाई पन्छयाएर बढी मुल्य पर्ने कम्पनिसंग मेशिन खरिद गरिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरले झण्डै २१ लाख बढी पर्ने कम्पनिसंग सम्झौता गरेर मेशिन खरिद गरेको पाईएको छ ।


आपूर्ति व्यवस्थापन केन्द्रले श्रावण २९ मा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियन्त्रण २०६४ को नियम १४५ बमोजिम बिशेष परिस्थितिमा खरिद हुने सम्बन्धी व्यवस्था अनुरुप औजार उपकरण खरिदको लागि सात दिने सूचना प्रकाशन गरेको थियो । उक्त सूचना बमोजिम पीसीआर (रियल टाईम मेशिन) र एक्स्ट्र¥याक्सन प्याकेज–१ मा ३ वटा फर्मको बोलपत्र मध्ये सबैभन्दा बढी रकम प्रस्ताव गरेको कम्पनीसंग खरिद गरी सबैभन्दा न्युनतम रकम प्रस्ताव गरेका कम्पनिको बोलपत्र रद्द गरिएको छ ।
दुई पटक बोलपत्र आव्हान गरी खरिद तीन पिसिआर मेशिनमा दुवै पटक कम मुल्य प्रस्ताव गरेको कम्पनीलाई पन्छयाउँदै बढी मुल्यपर्ने सम्पनीसंग सम्झौताको मुख्य कारण फर्मको आवश्यक कागजात पूरा नभएको र प्राविधिक रुपमा मूल्यांकन समितिले छनोट नगरेको सुचना अधिकारी श्रवण नायकले बताए । ‘विश्व स्वास्थ्य संगठनको मान्यता अनुरुप युएसएफडिए हुनुपर्नेमा अन्य कम्पनीको एफडिए मात्र भएकोले बढी मुल्य भएपनि मापदण्ड पुरा गरेर खरिद गरिएको छ’ उनले भने, ‘प्राविधिक रुपमा राम्रो र उच्च स्तरीय मेशिन खरिद गर्दा मुल्य भन्दा उपयुक्तता बढी मुहत्वपूर्ण हुन्छ, त्यसैपनि सबै बोलपत्रबाट एउटा मात्र स्विकृत हुने हो ।’
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र निर्देशक डा. प्रमोदकुमार यादव, सामाजिक विकास मन्त्री नबलकिशोर साह सुडीका छोरा सुमित साह सहितको मिलेमतोमा नै सरकारले जानीजानी बजारको चलन चल्ती मूल्यभन्दा धेरै महंगो दरमा सामान किनेको श्रोतको दाबी छ । केन्द्रका निर्देशक डा. यादवले स्वास्थ्य निर्देशनालयका निर्देशक हुँदा नै मेडीसोलुसनबाट सामान खरिद गर्ने गरेका कारण फर्मसँग उनको साँठगाँठ पुरानै रहेको स्रोतको दाबी छ ।
यता केन्द्रका निर्देशक डा. यादवले पीसीआर मेशिन अभाव खरीद हुँदा स्वाभाविक रुपीमा महँगो हुने तर्क गरे । प्राविधिक रुपमा उपयुक्त र गुणस्तरी मेशिनका लागि मुल्याङकन गरेर अलि बढी मुल्य भएपनि विश्व स्वास्थ्य संगठनले मान्यता दिएको पिसिआर खरिद गरिएको दाबी गरे ।

२०७७ आश्विन १४, बुधबार ०९:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय