
खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा स्थायी राजधानी र नामकरणका विषयलाई लिएर विपक्षी दल नेपाली कांग्रेसले आज कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ । होहल्ला र विरोधका बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि आक्रोशित कांग्रेसका प्रदेशसभा सदस्य तोडफोडमा उत्रिएका थिए ।
प्रदेशसभामा सदस्य बसी उद्दिन खाँले कुर्सी तोडफोड गर्न शुरु गरेपछि सदस्य रमा अर्याललगायतले प्रदेशसभाका विभिन्न भौतिक संरचना तोडफोड गरेका थिए ।
उनीहरु सभामुखलाई घेरा गर्न रोष्ट्रममा आउन लाग्दा मर्यादापालकसँग घम्साघम्सी परेको थियो । सभामा तोडफोड जारी रहँदा मुख्यमन्त्री शङ्कर पोखरेल बैठकबाट बाहिएका थिए।
मुख्यमन्त्री पोखरेललाई आइतबार प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए । अपराह्न १ बजे शुरु भएको बैठक २ बजे सरे पनि सहमति नभएपछि ३ बजे शुरु भएको थियो ।
सभामुख घर्तीले विरोधको अधिकारलाई सम्मान गर्दै प्रदेशसभालाई अनिर्णयको बन्दी बनाउन नहुने भनी बैठक शुरु गरेका थिए।
त्यसअघि सार्वजनिक महत्वका विषयमा प्रदेशसभा सदस्यद्वय अर्याल र सन्तोष पाण्डेलाई समय दिइए पनि उनीहरुले बैठकमा बोलेनन् ।
बैठक मङ्गलबार बस्ने गरी स्थन भएको छ । राजधानी सार्ने विषयलाई लिएर यहाँ केही दिनदेखि तनाव देखिएको छ ।