
मोरङ: मोरङको विराटनगरमा अस्पताल सञ्चालकसहित थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । उनीहरुको आइतबार राति र सोमबार बिहान मृत्यु भएको हो । दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा मृत्यु भएको हो ।
मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार कोभिड अस्पतालको आइसोलेसनमा बिहान ९ बजे ती वृद्धको मृत्यु भएको हो । निमोनियाको समस्या रहेकोभन्दै अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको आएकोमा उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।
नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ । कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा असोज २७ गते रिपोर्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित महिलाको पनि मृत्यु भएको छ । विराटनगर–२ की ६० वर्षीया महिलाको बिहान ४ बजे मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
ती महिलामा असोज १९ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पताल भर्ना गरिएको थियो । विराटनगरकै न्युरो अस्पतालमा पनि एक संक्रमित पुरुषको मृत्यु भएको छ । न्युरोको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
मृतक ती पुरूष पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लिका सञ्चालक पनि हुन् । पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आउनुभन्दा अघिल्लै दिन श्वासप्रश्वासमा समस्या भएपछि घरमै अक्सिजन दिएर राखिएकोमा अझै समस्या भएपछि उनलाई असोज २२ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।