
काठमाडौं । काठमाडौंको धापासिमा छुरा प्रहार गरि युवाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत कार्तिक १४ गते टोखा नगरपालिका–५ स्थित धापासी बस्ने गोरखाका २४ वर्षीय आशिष मगरको मृत्यु भएको थियो ।
पक्राउ पर्नेमा संखुवासभा घर भइ हाल धापासी बस्ने १९ वर्षीय दोर्ज शेर्पा, टोखाका २६ वर्षीय राम श्रेष्ठ डेडे र स्याङ्जाका २७ वर्षीय रवि थापा रहेको प्रहरीले जनाएको छ ।
मगरलाई गत शुक्रवार अज्ञात समूहले छुरा प्रहार गरि हत्या गरेको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
टोखास्थित आफ्ना घरमा बस्दै आएका मगर पेन्टिङको काम गर्दै आएका थिए । मगरलाई बसिरहेको ठाउँमा एक्कासी छुरा प्रहार गरी संलग्नहरु फरार भएका थिए ।