
काठमाडौं : लकडाउनमा रोकिएको कक्षा–१२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन हुँदैछ। तर, कोरोना महामारीका कारण पढाई बन्द भएपछि गाउँ गएका कतिपय विद्यार्थी उतै रोकिएका छन्। उनीहरू परीक्षा कसरी दिने, परीक्षा दिन पाउने या नपाउने भनी चिन्तित र अन्योलमा छन्।
आफू रहेको स्थाननजिक रहेको या पायक पर्ने विद्यालयमा परीक्षा दिन पाउने/नपाउने विषयमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेल भन्छन्, ‘सकेसम्म आफू अध्ययन गरेको विद्यालयबाटै परीक्षा दिनुपर्ने छ। विद्यालय पुग्नै नसक्ने विद्यार्थीले आफूपायक पर्ने विद्यालयबाट पनि परीक्षा दिन पाउने छन्।’ उनका अनुसार परीक्षा केन्द्र वा आफू अध्ययनरत विद्यालयमा पुग्न नसक्ने विद्यार्थीको डाटा संकलन गरिएको छ।
‘आफू पायक पर्ने ठाउँबाट परीक्षा दिने करिब ४ प्रतिशत विद्यार्थी छन्,’ उनले भने, ‘उनीहरू अन्त जानै नसक्ने अवस्था भएपछि सोही ठाउँबाट परीक्षा दिने व्यवस्था गरिदिएका छौँ।’ सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने उनले बताए।
नमुना प्रश्नपत्र दुई दिनभित्र वेभसाइटमा
बोर्डका अध्यक्ष प्रा.डा पौडेलले दुई दिनभित्र कक्षा १२ को नमूना प्रश्नपत्र बोर्डको वेभसाइटमा राख्ने जानकारी दिए। उनले भने, ‘धेरै विद्यार्थीले प्रश्न कति र कस्ता खालका आउँछन् भनी जिज्ञासा राख्ने गरेका छन्। त्यसैले हामी प्रश्नपत्रको नमूना वेभसाइटमा राखिदिने छौँ।’
उनका अनुसार प्रश्नपत्रको मोडल पुरानै रहने सम्भावना देखिएको छ भने, प्रश्न संख्या भने घट्न सक्नेछ।
कोरोना संक्रमण शंका लागेका विद्यार्थीलाई अलग्गै राखिने
बोर्डले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा(कक्षा १२) को विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन,व्यावस्थापन,अभिलेखीकरण, प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ जारी गरेकोमा कोभिड –१९ को संक्रमणको शंका भएका विद्यार्थीका लागि अलग्गै कोठामा राखी परीक्षा लिने व्यवस्था गरिएको छ।
विद्यालयले जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्नेगरी प्रत्येक विद्यार्थीको कम्तीमा २–२ मिटरको दूरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २० परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्नुपर्नेछ। थाहाखबरबाट