बारा : बारामा जितपुरसिमरा उपमहानगरपालिका–१० का १४ वर्षीय शहीद हुसेन अन्सारी घरबाट हराएको १८ दिनपछि मृत फेला परेका छन् । उनको शव कुहिएको अवस्थामा फेला परेको छ ।

फागुन ११ गते गाउँमा विवाह भोज खान गएका शहीदको शव शुक्रबार बिहान गाउँमै उद्योगको कालो छाईमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

परिवारका सदस्यले शव शहिदको भएको दाबी गरेको छ । तर, प्रहरीले भने शव सडिसकेकाले पहिचान हुन नसकेको बताएको छ ।

शहिदका मामा तथा जितपुरसिमरा–२३ वडा सदस्य कैयुमुदिन अन्सारीले पाइन्ट ,गन्जी र अन्य सामान हेर्दा शव शहिदको भएको बताए । प्रहरीले कपडा र चप्पलबाट शव शहिदको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान नभएसम्म केही भन्न नसकिने बताएको छ । थप अनुसन्धानका लागि कुकुर प्रयोग गरिएको पनि बताएको छ ।

शहिद परवानीपुरस्थित ज्ञानसागर बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए । उनको खोजीका लागि परिवारले बारा, पर्सा, रौतहट र चितवन प्रहरीलाई जानकारी गराएको थियो । बिहान खेतमा काम गर्न जाने क्रममा स्थानीय महिलाले शव देखेर गाउँलेहरूलाई जानकारी गराएकी थिइन् ।

२०७७ फाल्गुन २८, शुक्रबार १५:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय