
जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय, धनुषाले वटसावित्री पर्व र ईदुउलफित्र पर्व आआफ्नै घरमा मनाउन आग्रह गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि नेपाल सरकारले लकडाउनसमेत जारी गरेको हुँदा ती पर्व घरमै बसेर मनाउनका लागि सो कार्यालयले आज सूचना जारी गरेको हो ।
आआफ्ना पतिको दिर्घायुका साथै अटल शौभाग्यवती हुने कामनाका साथ शुक्रबार वटसावित्री पर्व मनाइनेछ । विगतका वर्षमा महिला सार्वजनिकरुपमा वटवृक्षमुनि समूहमै बसेर पूजा गरी मनाउने गरिन्थ्यो । यस वर्ष कोरोनाबाट जोगिनका लागि घरमै बसेर मनाउन आह्वान गरिएको हो ।
यसका साथै कोरोनाको सङ्क्रमणबाट सुरक्षित रहनका लागि मुस्लिम धर्मावलम्वीले मनाउने ईदउलफित्र (ईद) पर्वका अवसरमा मस्जिद, ईदगाहमा नमाज नपढी आआफ्नै घरभित्र नमाज पढी पर्व मनाउन आह्वान गरिएको हो । यी दुईवटै पर्व मनाउने श्रद्धालु तथा भक्तजनमा पर्न गएको पीडाप्रति जिल्ला प्रहरी कार्यालय क्षमाप्रार्थी रहेको सूचनामा उल्लेख गरिएको छ ।

