महोत्तरी : इस्लाम धर्मावलम्बीको महान चाड रमदान (रमजान) महिना सकिनै लाग्दा महोत्तरीका बस्तीहरुमा इद–उल–फित्र (बोलीचालीमा इद) को तयारी देखिँदो छ ।
हिजरी संवत्को रमदान महिनाको दिनभरि कठोर रोजा व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमै मनाइने इदको तयारीमा देखिएका हुन् । महोत्तरीसहित मिथिला क्षेत्रमा सोमबार इद मनाउने तयारी छ । सरकारले भने आइतबार सार्वजनिक बिदा दिएको छ । फरक–फरक भूगोल विशेषमा इदको दिन विगतदेखि नै फरक पर्दै आएको छ । चन्द्रमाको गतिका आधारमा तय गरिने इदपर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाइने इस्लाम परम्परा छ ।
सामान्यतया ३० दिन रोजा पूरा भएपछि मनाइने यो पर्व सोमबार मनाइने तयारी रहेको भङ्गाहा नगरपालिका–४ रामनगरका ८० वर्षीय हाजी (मक्का मदिना गएर विशेष धार्मिक विधिसम्पन्न गरेपछि इस्लाम परम्परामा नामको अगाडि थपिने उपाधि) बिहारी अन्सारीले बताउनुभयो । तोकिएका क्षेत्रका मुख्य मौलाना (धर्माधिकारी)ले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट इद मनाउन आह्वान गरेपछि पर्व मनाइने हुँदा कहिलेकहीँ फरक–फरक क्षेत्रमा दिन फरक पर्ने गरेको छ । अहिलेसम्म सोमबार इद मनाइने तयारी भए पनि मौलानाले एक दिनपूर्व नै मनाउन आह्वान गरे सोअनुसार हुने अन्सारीको भनाइ छ ।
इद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) अदा (अर्पण) गर्ने इस्लाम परम्परा छ । इदका दिन कुरान (मुख्य धार्मिक ग्रन्थ) मोल्वी (धर्मगुरु)ले वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने ख्वाउने चलन छ । पर्वका लागि मुस्लिम बस्तीमा अहिलेदेखि नै दूधसहितका सामग्रीको जोहोमा सबै तल्लीन देखिँदा छन् ।
पर्वमा बस्तीभित्रको मस्जिद (धार्मिक अनुष्ठानबाट पवित्र बनाइएको प्रार्थनास्थल) मा सबै पुरुष जम्मा भएर सामूहिक नमाज अदा गर्ने परम्परा भए पनि यसपालि लकडाउनले गर्दा घरघरै यो धार्मिक विधि सम्पन्न गरिने तयारी छ । इदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ (आफ्नो कमाइको २.५ प्रतिशत कोषमा बुझाउने रकम) दिने परम्परा छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।
महोत्तरीमा बसोबासको गणनाले मुस्लिम समुदाय तेस्रो ठूलो जनसङ्ख्या भएको समुदाय हो । जिल्लाका सबै १५ वटै स्थानीय तहमा मुस्लिम समुदायको सघन बसोबास रहेको छ ।