काठमाण्डौ : भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने बाटो बनाएपछि देशका हरेक नागरिकले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारलाई चर्को दबाब दिइरहेका छन् । सरकारले पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा समाविष्ट नयाँ नक्सा जारी गरिसकेको छ । तर, नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार गरेको अवस्था छैन ।
लिपुलेकसहित भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउनु पर्ने माग उठिरहेको बेला संघीय सदभावना पार्टीकी उपाध्यक्ष सरिता गिरी भने भारतको पक्षमा वकालत गरिरहेकी छन् । उनले विभिन्न सञ्चारमाध्यममा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने प्रमाण नभएको बताएकी छन् । अहिले उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ ।
अभिनेत्री नीता ढुंगानाले पनि गिरीलाई नेपालको लायक नभएको भन्दै भारतमै गएर राजनीति गर्न सुझाएकी छन् । उनले आफ्नो आधिकारिक फेसबुकमा लेखेकी छन्, ‘हो नारीलाई आफ्नै माइती नै प्यारो हुन्छ । उतै गएर राजनीति गर्दा कसो होला ! तिमी नेपालको लायक छैनौ ।’ नीताले नेतृ गिरीप्रति लक्षित गरेर लेखेको स्टाटसमा उनका प्रशंसकहरुले पनि समर्थन जनाएका छन् ।
फिल्म निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदयले पनि नेतृ सरिता गिरीले राष्ट्र र राष्ट्रियताको विरुद्धमा दिएको अभिव्यक्तिको विरोध जनाएका छन् । ‘हिजो वर्षा राउतले बोल्न ढंग नपुराउँदा रगत उमाल्ने राष्ट्रवादीहरु आज सरिता गिरीले ठाडै राष्ट्र र राष्ट्रियता विरुद्व बोल्दा कहाँ लुकेका छन् ? मलाई मेरो राष्ट्र र राष्ट्रियता प्राण भन्दा प्यारो छ,’ उनले फेसबुकमा लेखेका छन् ।