काठमाडौं : सिमा विवाद समाधानका लागि भारतले नेपाललाई अब वार्ताको प्रस्ताव नगर्ने भएको छ । उसले भन्दै आएको वार्ताको वातावरण तयार गर्ने जिम्मा नेपाली पक्षलाई नै छाडिदिने भएको छ ।

आज द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा भारतले अब कुनै वार्ताको प्रस्ताव नगर्ने खबर प्रकाशन गरेको हो । विदेश मन्त्रालयको विश्वस्त स्रोतको भनाई उदृत गर्दै उसले काठमाडौंलाई वार्ताको परिस्थिति बनाउने गरी चुप लाग्ने उल्लेख गरेको छ ।

नेपालले नयाँ नक्शा जारी गरिसकेको अवस्थामा भारतले वार्ताका लागि बढेको पाइला निकालिसकेको भनिएको छ । यसलाई ओली सत्ताको जानीजानी उत्पन्न परिस्थिति भनेको छ ।

यसअघि द हिन्दुस्तान टाइम्सले विदेश मन्त्रालयको स्रोत उल्लेख गर्दै नयाँ नक्शा जारी गर्नु अघि भारतले विदेश सचिवस्तरीय कुराकानीको प्रस्ताव गरेको उल्लेख गरेको थियो । विदेश सचिवस्तरीय भ्रमणको समेत प्रस्ताव गरेको भनिएपनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत वर्षको कात्तिक देखि सिमा विवादको विषयमा वार्ताको प्रस्ताव गर्दा बेवास्ता भएको खुलाएका थिए ।

यसैगरी, नेपाल र भारतबीच सिमा विवादका कारण उत्पन्न परिस्थितिबारे कँग्रेस आईका नेता डा. करण सिंहले मुख खोलेका छन् । उनले यसलाई गम्भीर कुटनीतिक भुल भनेका छन् । नेपाल र भारत दुवै नेतृत्वबाट भुल भएको भन्दै सिंहले यसको नतिजा नेपाल र नेपाली जनताको अनुकुल नहुने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

हिजो एक विज्ञप्तिमार्फत नेपालसँग राजनीतिक मात्र नभई पारिवारिक सम्बन्ध समेत रहेका ८९ वर्षीय सिंहले तत्काल विभिन्न तहमा वार्ता गर्नुपर्नेमा नगरेको भन्दै आफ्नै देशको सरकारको आलोचना समेत गरेका छन् । उनले भनेका छन्, हामीले तत्काल विदेश सचिवस्तरीय कुराकानी गर्नुपथ्र्यो, यदि आवश्यक परेको खण्डमा विदेशमन्त्री वा प्रधानमन्त्री तहमा सम्म कुराकानी गर्नुपथ्र्यो । प्रत्यक्षरुपमा यो गम्भीर कुटनीतिक भुलका रुपमा देखियो ।

नेपालले गत वर्षको नोभेम्बरमा यो विषय उठाएको स्मरण गराउँदै आश्चर्यजनक ढंगबाट भारतले गम्भीरतापूर्वक नलिएको विज्ञप्तिमा भनेका छन् । अवस्थालाई धेरै बिग्रन दिननहुनेमा त्रुटी हुँदै गएको सिहले उल्लेख गरेका छन् ।

सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अप्ठ्यारो अवस्थामा लगेको भन्दै गहिरो दुःख प्रकट गरेका छन् । दुई देशबीच स्थापित सामाजिक, सास्कृतिक, धार्मिक, आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद ओलीले टकरावको अवस्थामा पुर्याएको भन्दै आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीको कदमबारे उल्लेख गर्दै उनले भनेका छन्, यसले भारतलाई प्रभावित पार्न सक्ला या नसक्ला । मलाई डर छ कि यसको परिणाम नेपाल र सुन्दर देशको जनताको अनुकुल नहुन सक्छ ।

स्मरणीय रहोस् डा. करण सिंह काश्मिरका अन्तिम राजा हरिहर सिंहका छोरा हुन् । काश्मिरका पूर्व राजकुमार सिंहले नेपालका पूर्व प्रधानमन्त्री मोहन शमशेरकी नातिनी यशो राज्यलक्ष्मी हुन् । उनको निधन भइसकेको छ । सिंह २०६२६३ को जनआन्दोलनताका तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको दुत बनेर राजा ज्ञानेन्द्र शाहलाई सन्देश सहित भेट्न आएका थिए । सिहले राजसंस्था बचाउन पहल गरेको चर्चा त्यतिबेला चलेको थियो । तर, जनआन्दोलनको लहरले राजसंस्था अन्तको ढोका खोलेको थियो ।

२०७७ असार २, मंगलवार ०७:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय