काठमाडौँ : चीनले जीपीएस प्रणालीलाई चुनौती दिने प्रणालीकाे लागि आवश्यक अन्तिम भूउपग्रह पृथ्वीको बाहिरी कक्षमा स्थापित गरेको छ ।
अन्तरिक्षमा प्रमुख शक्ति बन्ने होडमा रहेको चीनले आज गरेको प्रक्षेपणपछि अब चीनले अमेरिकी सरकार नियन्त्रित ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) मा भर पर्नुपर्ने छैन । चीनको एक खर्ब अमेरिकी डलरको बेइदु–३ प्रणाली ३५ भूउपग्रहको सञ्जाल हो र यसले पृथ्वीको सबै कुना समेट्ने बीबीसीले जनाएको छ ।
बेइदु नेभिगेशन सिस्टम बीडीएसको तेस्रो संस्करण अमेरिकाको जीपीएस, रुसको ग्लोनास र युरोपको ग्यालिलियो प्रणालीको विकल्प हुनेछ । यो परियोजना सन् २०१२ मा सुरु गरिएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।
चीनले भविष्यमा स्थायी अन्तरिक्ष स्टेशन राख्ने, मानवलाई चन्द्रमामा उतार्ने र मङ्गल ग्रहमा यान एवम् वाहन पठाउने तयारीको रूपमा बेइदुलाई हेरिएको खबरमा उल्लेख छ । चीनले ती कुरामा सफलता प्राप्त गरेमा अन्तरिक्ष अन्वेषणमा अमेरिकाको प्रतिद्वन्द्वी हुने मानिएको छ ।
चीन र अमेरिकाबीच कोरोना भाइरस, व्यापार र हङकङलाई लिएर तनाव भइरहेको बेला चीनले अन्तिम भूउपग्रह प्रक्षेपण गरेको हो ।