जनकपुरधाम : जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको आईसोलेशन कक्षमा एक जना १६ वर्षिय युवकको मृत्यु भयो । आईसोलेशन वार्डको बेडबाट लडेका राजु छटपटाई रहेका थिए । सामान्य झाडापखाला लागेका युवककोे उपचार नपाएर कुनै बेला खुट्टा उचाल्थे, कुनैबेला हात चलाएर बेस्सरी कपाल लुच्छथे । तर उनको अवस्था बुझन चिकित्सक, नर्स कोही आएनन् ।

राजुसंगै आईसोलेशनमा रहेका उनका साथी अरुणले सदाले राजुको पीडा देख्न नसकेर बेडमाथिबाट लडेका राजुलाई उठाउँदै सोधे, ‘ए राजु, राजु ! के भो हँ ?’ तर राजु केही बोल्न सकेनन् । अरुणले भुइँबाट उठाएर बेडमा राखे । शरीर थप्थपाए । तर राजुको पीडा कम भएन । पीडाले हातखुट्टा चलाए, सिरानी च्यापे । आइसोलेसन सेन्टरमा घण्टौंसम्म छटपटाउँदा पनि कुनै चिकित्सक राजुलाई हेर्नै आएनन आएनन् । अन्ततः सोमबार साँझ आइसोलेसनमै राजु सदाले देह त्याग गर्दै सदाका लागि अस्ताए ।

एकवर्ष अघि रोजगारीमा भारतगएका राजु मद्रासबाट गत जेष्ठ १४ गते आठ दिनको पैदल यात्रा गरेर नेपाल फर्किएर हंसपुर नगरपालिका ९ स्थित नौवाखोर क्वारेन्टाईनमा बस्दै आएका थिए । क्वारेन्टाईनमा सरसफाइयुक्त खाना नभएकाले क्वारेन्टाईन बसेको १६ औं दिनमा झाडापखाला सुरु भयो । राजुका बुवा असे सदाले भने, ‘क्वारेन्टाईनमा छोरा भेटन जादा राजुले पखाला लागेकोले शरिर गल्दै थियो, हामीले त्यहाँका डाक्टर साबलाई राजुलाई पखाला लागेको साथै वान्ता भएकोले हेरेर पानी चढाईदिन भन्दा पानी चढाउन नपर्ने भन्दै हप्कायो ।’

गत जेष्ठ २८ मा राजु सहित तीन जनालाई टिपरमा राखेर जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको गेटसम्म छाडियो । ‘अस्पतालले आइसोलेसनमा भर्ना त गर्‍यो, तर उपचारमा ध्यान दिएन’ घटनालाई नजिकबाट नियालेका पचु सदा भने, ‘क्वारेन्टाईनमा बसेका अरुको अवस्था समेत उस्तै थियो, अझ आइसोलेसनमा खाना त दिइन्थ्यो, तर कोरोना परीक्षणको रिपोर्ट नआएका कारण चिकित्सक र स्वास्थ्यकर्मी हेर्न समेत आउदैन्थ्यो, राजु यसै बीचमा निरन्तर झाडापखाला भएका कारण सिकिस्त भई सिथिल हुँदै गयो । उनलाई एक पुरिया जीवनजल समेत दिइएन, सोमबार कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि उनलाई दिउँसो तिर आकस्मिक कक्ष सम्म लगियो । तर धेरै ढिला भइसकेको थियो । साँझ उनको मृत्यु भयो ।’ उनले भने, ‘राजुको यसरी ज्यान जाने थिएन’ सदाले भने, ‘कोरोना जाँचका नाममा दिनुसम्म दुःख दिएर मारियो, यसको जिम्मेवारी कस्ले लिन्छ, हामी कस्को सहारामा बाँचौं ।’

मृतक राजुका काका राजेश्वर भन्छन्, ‘प्रादेशिक अस्पतालमा ल्याएर राखेपछि राम्रो उपचार पाईन्छ भन्नेमा हामी ढुक्क थियौं, पखाला लागेको जानकारी समेत हामीलाई थियो, तर हामी आफै उपचार गर्छौ भन्दा पनि मानेन, हामी आफैँ पनि उपचार गराउँथ्यौं, हामीलाई जिम्मा दिएको भए राजु आज जिउँदै हुन्थ्यो ।’ तर यहाँ त उपचार नपाएर मेरो भतिजोको छटपटाउँदै-छटपटाउँदै मृत्यु भयो ।’

युवकको उपचार नपाउँदा मृत्यु भएको मृतक राजुका १६ वर्षिया कलिलै छोराको मृत्युको वियोगमा भक्कानिदै असे सदाले भने, ‘पखाला लागेको छोरालाई एउटा जीवनजल समेत क्वारेन्टाईनमा दिन सकेन, हामीले छोरा भेट्न जादा बिरामी भएको सुनेर पैसा लिएर समेत उपचार गरिदिन भन्दा कसैले मानेन, डाक्टरहरुले यहाँबाट अन्यत्र लान अनुमति छैन, औषधि दिएको छु, आफै ठीक हुन्छ, भनि हामीलाई हप्काउँदै पठायो, तर त्यसको केही दिन नवित्दै मेरो छोरालाई हामीलाई थाहै नदिई प्रादेशिक अस्पताल पठायो, मर्नेबेलामा हामीलाई जानकारी भयो, तर उपचार गराउन खोज्दा खोज्दै छोराको मृत्यु भयो ।’ उनी आँखाबाट आसु झार्दै भने ।

२०७७ असार १२, शुक्रबार ०९:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय