काठमाण्डौ : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले शुक्रवार आफ्नो इन्स्टाग्राममा शेयर गरेको एक भिडियोले यतिबेला फिल्म क्षेत्र तातेको छ । उक्त भिडियोमा उनले ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताउँदै केही फिल्मको सुटिङ सेटमा खाना र पानी उपलब्ध गराउन आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी छन् ।

साम्राज्ञीको यो अभिव्यक्ति निर्माता तथा कलाकार भुवन केसीतर्फ पनि केन्द्रित थियो । उनले थुप्रै पटक मिडियासँगको अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सेटमा आफूले भोगेका नराम्रा अनुभवहरु साटेकी छन् । तर, उनका भनाईहरुलाई नजरअन्दाज गर्दै आएका निर्माता भुवन केसीले यसपटक भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै साम्राज्ञीलाई जवाफ फर्काएका छन् ।

अभिनेत्री साम्राज्ञीले शुक्रवार इन्स्टाग्राममा साझेदार गरेको भिडियोमा सुटिङ सेटमा खाना र पानी माग्दा केही निर्माता/निर्देशकले अपशब्द बोलेको भनाईप्रति आक्रोशित हुँदै कलाकार भुवन केसीले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’

उनले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा पनि गरेर देखाउन आग्रह गरेका छन् । सम्भवतः अभिनेता केसी सामाजिक सञ्जालमा यसरी आक्रोशित भएर प्रस्तुत भएको पहिलो पटक हो । उनले आफू निर्देशित फिल्म ‘ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए । यो फिल्मको सफलतापछि साम्राज्ञी नेपाली फिल्मकी डिमान्डेड अभिनेत्री बनेकी थिइन् ।

फिल्मको सेटमा आफूमाथि निर्माता/निर्देशकले गरेका नराम्रा व्यवहार सुनाउँदै साम्राज्ञीले शुक्रवारको भिडियोमा भनेकी थिइन्, ‘सुटिङ सेटमा खाना र पानी माग्दा कति निर्माता/निर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने बुझेको छु ।’

https://www.facebook.com/bhuwankaycee/posts/10157387229957335

२०७७ असार १५, सोमबार ००:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय