एजेन्सी : कोरोना भाइरसका कारण बलिउडका निर्माता तथा निर्देशक फिल्मलाई सिनेमा घरमा रिलिज गर्ने पक्षमा देखिएका छैनन् । एकपछि अर्को फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भइरहेका छन् । अब चाँडै मल्टीस्टारर फिल्म ‘सडक २’ पनि अनलाइनमा रिलिज हुने भएको छ । निर्देशक महेश भट्टले आफ्नो यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गर्ने निर्णय गरेका छन् ।

विशेष फिल्म्स र फक्स स्टार स्टूडियोले निर्माण गरेको यो फिल्ममा सञ्जय दत्त, आलिया भट्ट, आदित्य रोय कपूर र पूजा भट्ट मुख्य भूमिकामा छन् । यो फिल्म १० जुलाईमा सिनेमा हलमा रिलिज हुने तयारीमा थियो । तर, कोभिड १९ का कारण सिनेमा हल बन्द भएपछि फिल्मको प्रदर्शन अनिश्चितकालका लागि रोकिएको थियो । अब, ‘सडक २’ ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।

मुकेश भट्टले भनेका छन्, ‘कोरोना संक्रमितको संख्या घट्नुको सट्टा झन् बढ्दै गइरहेको छ । यो स्थितिमा के तपाईंहरुलाई लाग्छ कि सिनेमा हल खुल्नेछ ? यदी खुल्यो भने पनि के दर्शकहरु फिल्म हेर्न सिनेमा हल पुग्छन् ? अहिले मानिसलाई आफ्नो परिवारको चिन्ता छ । आज मानिसको जिन्दगी महत्त्वपूर्ण छ । म ‘सडक २’ लाई ओटीटी प्लेटफर्ममा रिलिज गर्न बाध्य भएको छु ।’

उनले थपेका छन्, ‘मैले भविष्यमा कुनै आशा देखिरहेको छैन । तपाईं कुनै काम बाध्यताले पनि गर्नुपर्छ । हामीसँग अरु कुनै विकल्प बचेको छैन ।’ ‘सडक २’ १९९१ मा आएको पूजा भट्ट र सञ्जय दत्त स्टारर ‘सडक’ को सिक्वेल हो । कोरोनाका कारण सिनेमा हल खुल्ने कुनै निश्चित नभएका कारण बलिउड फिल्ममेकर ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्न बाध्य भएका छन् ।

२०७७ असार १५, सोमबार २१:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय