( धनुषाको सिमाक्षेत्र जनकनन्दनी गाउँपालिका स्थित कमला नदीले कटान गरेको क्षतिग्रस्त क्षेत्र ः गोबिन्द महतो )

गोबिन्द महतो / जनकपुरधाम
बाढीले खेत बगाएर लान्छ, घरखेत पानीमा डुब्छ, चूरेबाट खाएको पानीको भेलले छिनमै खेतलाई बगार बनाउँछ, यो त हाम्रो वर्षेनी नियती नै बनेको छ । धनुषा र सिरहाको सिमाना छुट्टयाउने कमला नदी तटीय क्षेत्रका बाढीपिडित कमलदेव यादवको यो पिडा उनको मात्रै हाईन् । उनी जस्तै नदी तटीय क्षेत्रका दजर्नौ गाउँको हजारौं धनुषा र सिरहाबासीको पिडा हो । नेपाल भारत सिमाक्षेत्रमा भारतले मान्यता विपरित बाँध तटबन्ध तथा सडकको संरचनाले धनुषा र सिरहा तटीय क्षेत्रका बासिन्दा वर्षेनी बाढी र डुबानको पिडा खेप्नुपरेको छ ।

मनसुन सक्रिय भएसंगै भारतले जयनगर स्थित बनाएको तटबन्ध ढोका आफु अुनुकुल खोल्दा र लगाउँदा धनुषा र सिरहाका हजारौं खेतीयोग्य जमिन र घर डुबानमा पर्छ । घरगोठ पानीमा डुब्छ, जनधनको क्षति हुन्छ । गत वर्षमा मात्र धनुषामा ६ जनाको मृत्यु भएको थियो । अझ रेल्वे र सडकको नाममा बाँधिकएको बाँधका कारण प्रत्येक वर्ष बाढीको नियति भोग्न बाध्य हुने गरेको जनकनन्दनी गाउँपालिका १ का रत्नेश्वरलाल गोईतले बताए । उनले भने, ‘वर्षाको समयमा सिमावर्ती क्षेत्रका गाउँहरु डुबानमा पर्नु नौलो कुरा हाईन, प्रायः प्रत्येक वर्ष कमला नदीको बाढी पसेर गाउँमा त्राहिमाम मच्चाउँछ, बाढीको उच्च बहाबको निकास नहुदा कमला तटीय क्षेत्रका गाउँका बासिन्दा अग्लो ठाउँ स्कुल, सार्वजनिक भवनमा सहारा लिनुपर्छ ।’


सिमाक्षेत्र डुबानको प्रमुख कारण भारतीय पक्षले बनाएको बाँध हो, सबैलाई थाहा छ तर कसैले आवाज नउठाएका कारण वर्षेनी हाम्रो बाढीपानीको नियती बनेको हो । कमला नगरपालिका हथमुण्डाका कमल मण्डलले भने, ‘उत्तरी चूरेबाट तीव्र बेग्मा बग्ने प्राकृतिक पानीको बहाव रोक्न सिमामा एकतर्फी बाँधले पानीको भेललाई सहज निकास हुन दिदैन, तीव्र वेगको पानी सिमाको ठुलो बाँधमा ठोक्किने र माथि फर्किने कारण हामीलाई जहिल्यै पिडा भोग्नुपर्छ ।’प्रदेश २ प्राकृतिक विपद् तथा व्यवस्थापन समितिका सभापति रामचन्द्र मण्डलले चूरे संरक्षण नहुँदा फडानी र दोहनका कारण नदीनालाको सतह पूरिदै छ । उनले भने, ‘भारतीय पक्षको बाँध चाहे त्यो सडकको नाममा होस् वा रेल्वे ट्रयाकको अर्को भारतीय बाँधले बहावलाई रोक्न खोज्दा अनिष्ट हुने गरेको छ ।’ उनले दुई दशक अघि चुरे पहाडबाट बगेर आउने भेलले मधेशमा उब्जनी बढाउने पानी मानिन्थ्यो, चुरेबाट बगेर आउने पाँगो माटोले तराईलाई उर्बर बनाउँथ्यो, तर अहिले भेलपानीले पाँगो माटो होइन, बालुवा र गेभल बोक्छ, यसले हराभरा बनाउने भन्दा पनि उजाड बनाउछ ।’

कमला नदीको पूर्वी तटमा अवस्थित सिरहाको बसपिरा, बरेरवा, सिरहा मखनाहा, महसोथा, रमौल, हथमुण्डा धनुषाको बरेरवा, सघारा, भलुवाही, टरिया, लगमा, माँचि, लक्कड, मडान, सखुवा लगायतका बस्तिहरु डुबानमा पर्दै आएको छ । बाढीपछि स्थानीय प्रशासनले राहत, उद्धार र अस्थायी पुनःस्थापनको व्यवस्था गर्छ, तर यो अवस्था कहिल्यै सम्म भन्ने प्रश्नको जवाफ कसैसंग छैन, रातिको समयमा भारी वर्षा भयो की, उनीहरु सुत्न सक्दैनन, सुरक्षित स्थानमा पुग्न भागभाग हुन्छ, फेरी गत वर्ष जस्तै नियति त दोहोरिने होईन भन्ने सन्त्रासले उनीहरुलाई पिरोल्न थाल्छ,’ जनकनन्दनी गाउँपालिकाका अध्यक्ष फारुख शेखको भनाई छ ।

गत वर्ष अषाढको अन्तिम साता आएको बाढी सम्झिएर अहिले पनि स्थानीय झस्किन्छन् । गत वर्ष झण्डै हजार घर भत्किए । ठुलो जनधनको क्षति भएको थियो । हजारौं नागरिक प्रभावित भए । तर यस वर्ष क्षति न्युनिकरणका लागि स्थानीय तहहरुसंग मिलेर विपद्को तयारी गरिसको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । उनले भने, ‘कमला जोखिम क्षेत्र कमला, जकनन्दनी, मुखियापट्टी मुहरनिया, शहिद सहितका स्थानीय तहको जोखिम क्षेत्र पहिचान गरी अलर्ट गरिएको छ, बाढी आउँदा खोजतलास, राहत, उद्धारको तयारी साथै रबरबोट, लाईफ ज्याकेट सहित १५ पौडीबाज सुरक्षाकर्मी तयारी अवस्थामा राखेका छौं ।’ कमला नदीको चूरे क्षेत्रमा बतहा खोला, घुर्मी खोला, चारनाथ र कमलाको बहाव एक्कै ठाउँमा मिसिने हुँदा धनुषा, सिरहा तटीय क्षेत्र र भारतीय सिमा क्षेत्रका बासिन्दाहरु प्रायः प्रत्येक वर्ष बाढीको मार खेप्नुपरेको छ ।

(महोत्तरीको जनकपुर–जलेश्वर सडक खण्ड स्थित पिपरा पूल नजिक विग्ही नदीको तिव्र बहावले त्रासित स्थानीयत : गोबिन्द महतो)

२०७७ असार ३०, मंगलवार ०९:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय