काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।
लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ३७ हजार ४०७ जना संक्रमित थपिएका छन् ।यसअघि गएको शुक्रबार एकै दिन सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित थपिएको भारतमा आइतबारको तथ्यांकले त्यसलाई पनि उछिनेको छ ।
संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा यो समाचार तयार पार्दासम्म १० लाख ७७ हजार ८६४ पुगेको छ ।यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ७३ हजार ४०६ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५४३ जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार ८२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।