बनियानी । झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको शव निकालिएको प्रवक्ता थापाले बताउनुभयो । उक्त पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालकसँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पोखरीमा डुबेर एकै गाउँका तीन बालकले ज्यान गुमेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ ।

पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । मृतक अङ्कुश एसियन स्टार बोर्डिङ स्कूल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए । निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशका काका आशिष तामाङले बताउनुभयो । “भतिजसहित अन्य दुई बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरण लापरवाहीको कारण भएको हो”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन ।” तीन बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्माण कम्पनीको लापरवाहीले नै गाउँमा यस्तो ठूलो घटना भयो, यसका लागि हामी कानूनी उपचारमा जान्छौँ ।” कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो । निर्माण कम्पनी आरएण्डसी नयाँ युग जेभीले रु चार करोड ३८ लाख तीन हजार ५७९ मा २०७८ असारसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।

२०७७ श्रावण ८, बिहीबार १६:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय