काठमाडौं : नेपालमा पहिलो पटक विद्यालयको पाठ्यक्रममा फिल्म समेटिएको छ । आउँदो शैक्षिक सत्रदेखि ११ र १२ कक्षामा फिल्म र डकुमेन्ट्री विषयको पढाई हुने भएको छ । चलचित्र विकास बोर्डले आधारभूत तहदेखि नै फिल्म पढाउने तयारी अन्तिम चरणमा पुगेको बताए पनि पाठ्यक्रम विकास केन्द्रले आउँदो शैक्षिक सत्रदेखि ११ र १२ कक्षामा मात्र फिल्म पढाइने जानकारी दिएको छ ।

पाठ्यक्रम विकास केन्द्रका अनुसार, ११ र १२ कक्षामा फिल्म र डकुमेन्ट्रीको पढाई अनिवार्य विषयको रुपमा समावेश गरिएको छैन । फिल्मलाई ऐच्छिक विषय (इच्छा भए मात्र) का रुपमा समावेश गरिएको पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलनाथ धमलाले जानकारी दिए । अनिवार्य विषयमा समावेश नभएकाले विद्यार्थीले फिल्म र डकुमेन्ट्री पढ्नै पर्छ भन्ने नभएको उनको भनाई छ ।

फिल्म सम्बन्धि अध्ययन गर्न इच्छुक विद्यार्थीले स्कुलले पढाउने व्यवस्था गरेको खण्डमा पढ्न सक्ने अधिकृत धमलाले बताए । ११ र १२ कक्षामा १००/१०० पूर्णाकको पाठ्यक्रम डिजाइन गरिएको छ । त्यसमा आधा थ्योरी र आधा प्राक्टिकल पाठ्यक्रम डिजाइन गरिएको जानकारी प्राप्त छ । फिल्म सम्बन्धि पाठ्यक्रमको प्रारम्भिक ड्राफ्ट फिल्म निर्देशक विनोद पौडेलले तयार गरेका हुन् ।

अहिले पाठ्यक्रम ड्राफ्ट भइरहेको र सकिने बित्तिकै सरोकारवालासँग छलफल गरेर लागू गर्ने तयारीमा पाठ्यक्रम विकास केन्द्र छ । चलचित्र विकास बोर्डलाई छलफलका लागि प्रारम्भिक ड्राफ्ट पठाइएको धमलाले बताए । पाठ्यक्रममा विश्व फिल्म इतिहास, नेपालको इतिहास, फिल्म बनाउने प्रक्रिया, अभिनय, छायांकन आदि विषय प्रस्ताव गरिएको मस्यौदाकार पौडेल बताउँछन् ।

२०७७ कार्तिक ४, मंगलवार २२:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय