महोत्तरी : मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवा पर्व यति खेर चल्दै छ ।

सामा चकेवा बहिनी–दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो। यो पर्व द्वितीया तिथिदेखि पूर्णिमासम्म मनाइन्छ।

द्वितीया तिथिका दिन बहिनी–दिदीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्य  छठ पर्वको खरना वा पारणदेखि सुरु हुने गर्छछन्।

मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् ।

संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउछन्।

उनका अनुसार भाइ बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइको बहिनी र पति पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ।

के के हुन्छ सामा चकेवा पर्वमा ?

सामा स्त्री र चकेवा पुरूष पात्र हुन्। दुईटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ। त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ। सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरू मनोरञ्जन गर्दछन्। छठको खरना वा पारणदेखि मैथिल ललनाहरू माटोको आकृतिहरू बनाई राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथीहरू मिलेर गीत गाउँदै चौरमा गई यो पर्व मनाउने गर्दछन्।

परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ। चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन्। यस पर्वमा पति पत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ। यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ।

यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन्। सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी बहिनीले मनोवाञ्छित फल प्राप्तिको कामना गर्दछन्। मूर्तिहरूलाई चलायमान गरी संवादको आनन्द उठाउँछन्। यसमा कुनै बेला वृन्दावनमा आगो लगाउँछन् र कुनै बेला चुगलाको मुख आगोले पोल्छन्।

डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन् जब महिलाहरू त्यसलाई पात्रका रूपमा उभ्याएर गीति संवाद बोल्छन्।

हेर्नुहोस् भिडियो !

प्रतिक्रिया

सम्बन्धित खवर

error: अरुको सामाग्री चोर्न पाइदैन !!