महोत्तरी : महोत्तरीबाट अपहरणमा परेका एक दम्पतीको खोजविन प्रहरीले तिव्र बनाएपनि अहिलेसम्म घटनामा संलग्न कुनै व्यक्ति पक्राउ पर्न सकेका छैनन् ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–५ का एक दम्पतीको सोमबार मध्यरातमा अपहरण भएको घटनामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिई सोछपुछ जारी राखेको छ । सोमबार राती घरमा सुतिरहेका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झाको अपहरण भएको थियो ।

घटनास्थलको प्रकृति हेर्दा मध्यरातमा पर्खाल नाघेर घरभित्र प्रवेश गरेका अपहरणकारीले झा दम्पतीलाई कुटपिट गरी घिसार्दै लगेको देखिएको छ । उनीहरु सुतेको कोठा वरिपरी रगतको छिटाहरु पनि देखिएको छ । यसकारण दम्पतीको हत्या समेत भइसकेको हो की भन्ने प्रहरीको आशंका छ ।

घरको तल्लो तल्लामा सुतेकी झाकी कान्छी बुहारी उषा झा र नातिनातिनीहरु भने सकुशल रहेका छन् । बुहारी उषाले भनिन्,‘आफू बिहान उठ्दा घरमा रगतका छिटाहरु देखें, बुवाआमा सुतेको ठाउँमा गएर हेर्दा त्यहाँ वहाँहरु दुबैजनालाई नदेखेपछि मैले छिमेकीलाई खबर गरें ।’
छिमेकीले प्रहरीलाई तत्कालै खबर गरेपनि प्रहरी भने डेढघण्टा पश्चात घटनास्थल पुगेको स्थानीयले बताए । घटनास्थलमा महोत्तरीका प्रहरी उपरिक्षक टिकाबहादुर केसी र प्रहरी नायव उपरिक्षक प्रकाश बिष्ट सहितको टोली पुगेर अनुसन्धान गरेका छन् । घटनास्थलमा तालिम प्राप्त कुकर पनि लगिएको थियो ।

गायव भएका दम्पतिको घरमा अहिले रुवावासी चलिरहेको छ । झा दम्पत्ती अलग अलग कोठामा सुत्थे । मुसाफिर पुरानो घरमा सुत्थे भने गीता देवी नवनिर्मित पक्की घरमा । नवनिर्मित घरमा ढोका लगाइएको छ भने झ्यालहरु लगाउन बाँकी नै छ । दूबैलाई ओछ्यान सहित अपहरण गरिएको प्रहरीले जनाएको छ । त्यस्तै गीता देवीको घरमा रगतको छिटाहरु समेत देखिएको छ । त्यस्तै घर पुग्न पीसीसी ढलान गरिएको गल्लीमा समेत रगतका छिटाहरु जस्तै देखिएको छ । ओछ्यान सहितै ती दम्पतिलाई अपहरण गरिएकोले यो घटना रहस्यमय बन्न पुगेको छ ।

अपहरित दम्पति मुसाफिर झा तथा गीता देवीको दुई बुहारी रातभरी जाग्राम बसेरै रात बिताउँछन् । उनीहरुलाई विश्वास छ सासु ससुरा घर फर्केर आउँछन् । तर अहिलेसम्मको दम्पतिको अत्तोपत्तो छैन । प्रहरी प्रशासन समेत अपहरित दम्पतिको अवस्थाबारे अनभिज्ञ छ ।
अपहरित मुसाफिरका बहिनी शान्ति देवीले भनिन्,‘दाई भाउजुको लाशै भएपनि हामीलाई बुझाएको भए संतोष हुन्थ्यो तर उनको कुनै खबर अहिलेसम्म नआएकाले हामी बेचैन छौँ । दुबैजनाको स्वभाव एकदमै सरल थियो, सबैसँग सुमधुर सम्बन्ध राख्ने प्रयास गर्थे । तर खोई कसको आँखा लाग्यो । दाई भाउजुको अपहरणसँगै परिवार नै छिन्नभिन्न भएको छ ।’

बहिनी शान्तिका अनुसार मुसाफिरको पछिल्लो समय स्वास्थ्य एकदमै कमजोर बन्दै गईरहेको थियो । उनलाई खाना नपच्ने समस्या थियो, त्यसैले उनी खाना पनि राम्ररी खान छाडेका थिए । मुसाफिर साक्षी बसेको मोही जग्गाको विवादको सम्बन्धमा फैसला आएलगत्तै उनलाई उपचारका लागि वीरगञ्ज लाने योजना परिवारको थियो ।

छोरी बेबी मिश्र बुवाको अपहरणको खबर पाएलगत्तै माइत पुगिन । उनी भाउजुहरुलाई सम्हाल्नका लागि माइत पुगेकी थिइन् । तर आमाबुवाको अपहरणले उनको आँखा पनि रसाएको हुन्छ । मेरो बुवाले कसको के बिगारेका थिए, बेबीले भनिन्,‘आमाबुवाको अवस्था अज्ञात त छ नै हामी पनि डरका बिच जसोतसो बाँचिरहेका छौँ ।’ उनले बुवाआमाको अवस्था चाँडै पत्ता नलागे समाजलाई लिएर कडा आन्दोलन गर्ने चेतावनी दिइन् । गाउँमै अपहरणका घटना भएकाले स्थानीयमा समेत त्रासको माहौल छ ।

mahottari-kidnap-apharan5

जग्गा विवादका कारण अपहरण भएको त होइन ?
अपहरित मुसाफिर झा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर–१ वगरामा रहेको एक मोही जग्गाको साक्षी बसेका थिए । मंगलबार सोही जग्गा विवाद सम्बन्धी फैसला जिल्ला अदालत महोत्तरीले सुनाउने तयारी गरेको थियो । तर सोमबार राति नै सासु ससुराको अपहरण भएको जेठी बुहारी अंशु झाले बताइन् ।

अंशु भन्छिन्,‘बगरामा रहेको ४ बिघा मोही जग्गा विवादमा मेरो ससुरा साक्षी बसेका थिए, बगराका रामजी भन्ने एक व्यक्ति उनलाई भेट्न पटक पटक आउँथे ।, त्यो दिनपनि आएका थिए, मंगलबार फैसला आउने भएकाले उनीसँगै मेरो ससुरा बाहिर गएका थिए ।’
अंशुका अनुसार त्यो दिन मुसाफिर घर फर्केर पनि आए । सबै ठीक थियो । तर राति सासु ससुराको अपरहण भएको सुइको समेत मैले पाइन् जबकि ससुरा सुतेको छेउकै कोठामा म सुतिरहेको थिएँ ।

ती दम्पतिको अपहरण हुनुभन्दा एक दिन अगाडी गाउँकै एक व्यक्तिसँग गीता देवीको विवाद भएको थियो । बुहारी अंशुका अनुसार त्यो विवाद पनि जग्गालाई नै लिएर भएको थियो । त्यो विवाद भने साक्षी बसेको मोहीको जग्गालाई लिएर नभई उनीहरुले बेचेको जग्गाका कारण भएको थियो ।

पुरानो घर फुसको थियो त्यसैले पक्की घर बनाउनका लागि १० धुर जग्गा उनीहरुले बेचेका थिए अंशुले बताइन् । त्यो जग्गा गाउँकै एक व्यक्तिले लिएका थिए । ७ लाख ५० हजार रुपैयाँमा त्यो जग्गा बिक्री गरिएको थियो । जग्गा किन्ने व्यक्तिले सुरुमा ५ लाख रुपैयाँ दिने र बाँकी रुपैयाँ पछि दिने भन्दै जग्गा रजिष्ट्रेशन गरिदिन दवाब बनाए जुन कुरो मेरो सासुले मान्नु भएन र विवाद भयो बुहारी अंशु बताउँछिन् । विवाद भएकै दिन मध्यरातमा उनीहरुको अपहरण भएको थियो ।

mahottari-kidnap-apharan4

मालपोतका अवकाशप्राप्त कर्मचारी थिए मुसाफिर
अपहरित मुसाफिर मालपोत कार्यालयका अवकाशप्राप्त कर्मचारी हुन् । उनी खरिदार हुँदै नायब सुब्बासम्म पुगेर १० वर्ष अगाडी अवकाश प्राप्त गरेका थिए । मुसाफिरको स्वभाव एकदमै सरल थियो,भाई विजयकान्त झाले बताए ।

सीधा सादा तथा ईमान्दारीपूर्वक जीवन व्यतित गर्ने मेरो दाईको कसैसँग दुश्मनी हुनसक्छ जस्तो मलाई लाग्दैन । उनी मालपोतको पूर्व कर्मचारी भएकाले जग्गा सम्बन्धि कुनै समस्या हुँदा वा विवाद हुँदा उनलाई समाधानका लागि खोजी हुने गथ्र्यो र उनले सकभर सबैलाई सहयोग गर्ने प्रयास समेत गर्ने गर्थे ।

mahottari-kidnap-apharan3

प्रहरी ‘क्लु’ खोज्नमा व्यस्त
६५ वर्षिय मुसाफिर र ६० वर्षिया गीता देवीको अपहरण भएको ५ दिनपश्चात पनि अवस्था अज्ञात रहेकाले प्रहरी प्रशासनका लागि समेत चिन्ताको विषय बनेको छ । प्रहरीको टोली दैनिक सहोडवा पुगेर अनुसन्धानलाई तीव्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिका बहादुर केसी स्वयं त्यहाँ पुगेर यस घटनाको अनुसन्धान गरिरहेका छन् । यद्यपि प्रहरी प्रशासन अझै अपहरणको क्लु खोज्नमै व्यस्त रहेको प्रहरी उपरीक्षक केसीले बताए । यता प्रदेश २ प्रहरीका प्रमुख धीरज प्रताप सिंहले यो घटनाको अनुसन्धानको क्रममा २० भन्दा बढि व्यक्तिसँग सोधपुछ गरिएको जानकारी दिए ।

उनले ३ जनालाई अनुसन्धानकै लागि हिरासतमा राखिएको बताए । यो घटनाको क्लु खोज्न अझै हामी व्यस्त छौँ,डीआइजी सिंहले भने,‘प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा ईलाका प्रहरीको संयुक्त टोली अपहरणको क्लु खोज्न व्यस्त छन् ।’

mahottari-kidnap-apharan2

डीआईजी सिंहले झा दम्पतीबारे अहिलेसम्म केही खुल्न नसकेको बताएका छन् । उनले भने,‘घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीब्र रुपमा भइरहेको छ । घरमा रहेकी उनको बुहारी र स्थानीयसँग समेत यस विषयमा प्रहरीले सोधपुछ गरिरहेको छ ।’ साभार: फरकधार

२०७७ फाल्गुन १५, शनिबार ०६:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय