जनकपुरधाम : शहिदनगरमा बेरोजगार महिला तथा युवतीहरुलाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरण गर्न सिकाउन सुरु गरिएको छ । ‘मेरो शरीर मेरो अधिकार-स्वस्थ्य समृद्ध एवं सुन्दर समाज’ मूल नाराका साथ हेल्पिङ्ग ह्याण्डस् नेपाल गौशाला महोत्तरीको आयोजना तथा शहिदनगर नगरपालिकाको आर्थिक सहयोगमा १५ दिने स्वास्थ्य सरसफाई र सेनेटरी प्याड तालिम सञ्चालन भएको हो ।
महिनावारीको समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तथा विक्री वितरणको व्यवस्था गर्न शहिदनगरका प्रायः सबै वडाकै महिला सहभागी हुने गरि २५ जनालाई तालिम दिइएको हो । घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारी प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि शहिदनगरमा पहिलो पटक तालिम सञ्चालन गरिएको मेयर उदय बरबरिया यादवले बताए ।

घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम सुरु गरिएको हो । शहिदनगरका प्रमुख उदय बरबरिया यादवले प्याड अभावमा छात्रा तथा महिलाहरुले असुरक्षित रुपमा अन्य सामग्रीको प्रयोग रोक्न तथा प्रजनन स्वास्थ्य बारे ज्ञानको अभिबृद्धि गराउन तालिमको आयोजना गरिएको बताए । ‘आफ्नै गाउँ घर वा स्कुल कलेजमै पनि सेनेटरी प्याड बनाउन सक्ने तथा अन्य आफन्त, छरछिमेक तथा परिवारका अन्य सदस्यहरुलाई समेत सचेत गराउन तालिम सञ्चालन गरिएको हो ।’ उनले गाउँको पसलमा प्याड किन्न जान गाह्रो मान्ने तथा प्रजनन स्वास्थ्य बारे खुलेर कुरा गर्न हिच्किचाहट हुनेहुँदा छात्रालाई सीप सिकाएर प्याडको प्रयोगबारे जानकारी दिने उदेश्यका साथ तालिम सञ्चालन गरिएको बताए ।

उनले भने, ‘ विद्यालय गईरहेको तथा घरमा काम अभावले बसिरहने किशोरी तथा महिलाको सीप विकास गर्नुको साथै आर्थिक रुपमा सबल बनाउनको लागि तालिम आयोजना गरिएको हो, अब तपाईहरु स्यानटरी प्याडकोे तालिम सिकेर सीपको सदुपयोग गर्नुहोस् र घरमै सकेसम्म सेनेटरी प्याड उत्पादन गरेर व्यवसायिक प्रदान गर्ने काममा लाग्नुहोस् ।’
कार्यक्रममा नेकपाका नगरसंयोजक सुरेन्द्र रायले तालिममा सहभागिलाई सिप सिकेर व्यवहारमा परिवर्तन गर्न तथा आफ्नो घर-परिवार तथा छरमिमेकमा समेत घरेलु प्याड बनाउन सिकाउन आग्रह गरे । उनले तालिममा सिकेका क्षमतालाई बाहिर प्रदर्शन गरेर सिपलाई व्यवसायिकतामा बदल्न आवश्यक रहेको बताए ।

विद्यालय र कलेजका छात्रा तथा महिलालाई घरमै भएको कपडाबाट प्याड बनाउने तरिका सिकाउन लागिएको प्रशिक्षक रश्मि कणर्ले बताइन् । उनले भनिन्, ’सेनेटरी प्याड बजारबाटै किन्नुपर्छ भन्ने छैन्। हामीसँग भएका पुराना कपडाको प्रयोगबाट प्याड बनाउन सक्छौं । त्यसैले घरमै भएका कपडाको प्रयोग गरी प्याड बनाउने तरिकाका बारे सिकाउन लागेका हौं ।’
विद्यालय जान छोडेका किशोरीको सीप विकास गर्नुको साथै आर्थिक रुपमा सबल बनाउनको लागि तालिम आयोजना गरिएको हेल्पिङ्ग ह्याण्डस् नेपालका अध्यक्ष गोबिन्द महतोले बताए । सीपलाई सदुपयोग गर्न सके उनीहरुले सेनेटरी प्याड सिलाएरै अर्थोपार्जन गर्न सक्ने किसिमले प्याडको तालिम सञ्चालन गरिएको जानकारी दिए ।

‘विपदको समयमा महिला तथा किशोरी नै बढी मारमा पर्ने गरेका छन् । खाद्यान्न समस्यासँगै उनीहरुले महिनावारी सम्बन्धी समस्या झेल्नुपर्छ,’ महतोले, ‘त्यसमा कसैको पनि ध्यान जाँदैन, तर त्यसले पछि असर गर्न सक्छ । महँगो पर्ने सेनेटरी प्याड किन्नुभन्दा घरमा तयार गर्दा राम्रो हुन्छ भनेर तालिम दिएका हौं ।’
कार्यक्रममा सहभागि पत्रकार प्रतिभा झाले व्यवसायिक निरन्तरताले आत्मनिर्भर बनाउन मद्दत पुग्ने साथै प्याड तालिमबाट एकातिर पैसाको बचत र अर्कोतीर व्यवसायिकता तथा बजारीकरणमा आम्दानी हुने समेत बताईन् । कार्यक्रम संयोजक मनी कणर्ले तालिम निरन्तर १५ दिन सञ्चालन हुने जानकारी दिए । उनले तालिम पश्चात सहभागिहरुलाई प्रमाणपत्र सहित व्याड समेत उपलब्ध गराउने जनाए ।


२०७७ फाल्गुन १९, बुधबार २२:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय