जनकपुरधाम : महिनावारी र प्रजनन स्वास्थ्यको विषयमा अझै पनि ग्रामिण क्षेत्रमा खुलेर कुरा गर्न सक्ने अवस्थाको सृजना हुन सकेको छैन ।

महिनावारी तथा प्रजनन् स्वास्थ्यको विषयमा कक्षामा पढाई हुँदा समेत लजाउने, शिक्षक शिक्षिकाले पनि खुलेर पठनपाठन गराउन अप्ठेरो मान्ने लगायतका समस्याका कारण जिल्लाका विभिन्न ग्रामिण भेगमा महिनावारी भएको छ कि छैन भनेर सोध्दा समेत किशोरीहरु नाजवाफ हुने गरेका छन् । फलस्वरुप धनुषाको शहिदनगर नगरपालिका २५ जना महिला तथा किशोरीहरुलाई प्रशिक्षण दिइएको छ ।

धनुषाको शहिदनगर नगरपालिकामा महिनावारी, प्रजनन स्वास्थ्य र सेनेटरी प्याड विषयमा किशोरी तथा महिलाहरुलाई सचेत गराउने उदेश्यका साथ १५ दिने सेनेटरी प्याड तालिम सम्पन्न भएको छ । ‘मेरो शरीर मेरो अधिकार-स्वस्थ्य समृद्ध एवं सुन्दर समाज’ मूल नाराका साथ हेल्पिङ्ग ह्याण्डस् नेपाल गौशाला महोत्तरीको आयोजना तथा शहिदनगर नगरपालिकाको आर्थिक सहयोगमा १५ दिने स्वास्थ्य सरसफाई र सेनेटरी प्याड तालिम सम्पन्न भएको हो ।

तालिमको समापण समारोहमा बेरोजगार महिला तथा युवतीहरुलाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरणका गर्ने उदेश्यका साथ तालिम प्रदान गरिएको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले जानकारी दिए । उनले घरायसी कपडाको प्रयोग गर्दा निम्तिने स्वास्थ्य समस्या र बजारी प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि शहिदनगरमा पहिलो पटक तालिम सञ्चालन गरि सम्पन्न गरिएको मेयर यादवले बताए । उनले प्याड उत्पादन गरी स्थानीय रुपमा शहिदनगरलाई आत्मनिर्भर बनाउने दाबी गरे ।
‘आफ्नै गाउँ घर वा स्कुल कलेजमै पनि शिक्षक-शिक्षिका तथा छात्रछात्राहरु लोकलज्जाको रुपमा लिने महिनाबारी तथा प्याड किन्न डर मान्ने किशोरी तथा महिलाहरुको लागि यो प्याड तालिम बरदान सावित हुन्छ । सेनेटरी प्याड बनाउन सक्ने आफन्त, छरछिमेक तथा परिवारका अन्य सदस्यहरुलाई समेत सचेत गराउन तालिम सहभागिहरुले भुमिका खेल्न समेत तालिम सञ्चालन गरिएको हो ।’
उनले गाउँको पसलमा प्याड किन्न जान गाह्रो मान्ने तथा प्रजनन स्वास्थ्य बारे खुलेर कुरा गर्न हिच्किचाहट हुनेहुँदा छात्रालाई सीप सिकाएर प्याडको प्रयोगबारे जानकारी दिने उदेश्य पुरा भएको बताए । उनले भने, ‘ विद्यालय गईरहेको तथा घरमा काम अभावले बसिरहने किशोरी तथा महिलाको सीप विकास गर्नुको साथै आर्थिक रुपमा सबल बनाउनको लागि तालिम आयोजना गरिएको थियो, अब तपाईहरु स्यानटरी प्याडकोे तालिम सिकेर सीपको सदुपयोग गर्नुहोस् र घरमै सकेसम्म सेनेटरी प्याड उत्पादन गरेर व्यवसायिक प्रदान गर्ने काममा लाग्नुहोस् ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवले महिनावारी हुँदा के गर्ने के नगर्ने, घरेलु प्याडको प्रयोग कसरी गर्ने, कसरी बनाउने, विसर्जन कसरी गर्ने लगायतका विषयमा प्रशिक्षार्थीहरुले अनुभव प्रशंसा गरे । उनले भने, ‘प्रजनन् स्वास्थ्य र सेनेटरी प्याडको प्रयोग तथा व्यवस्थापनको बारेमा स्कुल र कलेजका शिक्षिकाहरुलाई समेत क्षमता अभिबृद्धि गर्न आग्रह गरे ।’ तालिममा महिनावारीको समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तथा विक्री वितरणको व्यवस्था गर्न शहिदनगरका प्रायः सबै वडाकै महिला सहभागी हुने गरि २५ जनालाई तालिम दिइएको हो ।

नेपाल अपाङ्ग महासंघ प्रदेश २ परियोजना अधिकृत सुष्मा भट्टले प्याड अभावमा छात्रा तथा महिलाहरुले असुरक्षित रुपमा अन्य सामग्रीको प्रयोग रोक्न तथा प्रजनन स्वास्थ्य बारे ज्ञानको अभिबृद्धि गराउन यस्ता तालिमको आवश्यकता रहेको बताईन् । समापण कार्यक्रममा अधिकृत भट्टले सहभागिलाई सिप सिकेर व्यवहारमा परिवर्तन गर्न तथा आफ्नो घर-परिवार तथा छरमिमेकमा समेत घरेलु प्याड बनाउन सिकाउन आग्रह गर्दै प्याडको उपयोगिता बारे सहभागिलाई बताईन् । ‘तालिममा सिकेका क्षमतालाई बाहिर प्रदर्शन गरेर सिपलाई व्यवसायिकतामा बदल्न आवश्यक छ । विद्यालय र कलेजका छात्रा तथा महिलालाई घरमै भएको कपडाबाट प्याड बनाउने तरिका महिला तथा किशोरीहरुको लागि बरदान सावित भईरहेको छ’ उनले भनिन ।

पत्रकार प्रतिभा झाको उदघोषण तथा सहजीकरणमा भएको समापण समारोहमा प्रशिक्षक रश्मि कणर्ले भनिन्, ’सेनेटरी प्याड बजारबाटै किन्नुपर्छ भन्ने छैन् । हामीसँग भएका पुराना कपडाको प्रयोगबाट प्याड बनाउन सक्छौं । यहाँ बनाउन सिकेको प्रविधि र व्यवहारिक ज्ञानलाई घरमै भएका कपडाको प्रयोग गरी प्याड बनाउने गरौं, यसले आर्थिक बचतका साथै स्वास्थ्यका लागि समेत उपयोगी र समयको सदुपयोग हुन्छ ।’

प्रजनन् स्वास्थ्य तथा प्याड बनाउने तालिमले किशोरीहरुको सीप विकासका साथै आर्थिक, समाजिक, मनोवैज्ञानिक पक्ष सबल हुे हेल्पिङ्ग ह्याण्डस् नेपालका अध्यक्ष गोबिन्द महतोले बताए । उनले भने, ‘सीपलाई सदुपयोग गर्न सकिए शहिदनगरलाई सेनेटरी प्याडमा आत्मनिर्भर बनाउन सकिन्छ ।सेनेटरी प्याड बनाएर पनि अर्थोपार्जन गर्न सक्ने भएकोले यसलाई दिर्घकासलन योजना अनुरुप अघि बढ्न सकिन्छ ।’
‘विपदको समयमा महिला तथा किशोरी नै बढी मारमा पर्ने गरेका छन् । खाद्यान्न समस्यासँगै उनीहरुले महिनावारी सम्बन्धी समस्या झेल्नुपर्छ । त्यसमा कसैको पनि ध्यान जाँदैन, तर त्यसले पछि असर गर्न सक्छ । महँगो पर्ने सेनेटरी प्याड किन्नुभन्दा घरमा तयार गर्दा राम्रो हुन्छ भनेर तालिम दिएका हौं’ महतोले भने ।

कार्यक्रम संयोजक मनीभुषण कणर्ले फाल्गुन १९ गते देखि तालिम सुरु भई चैत ४ गते १५ दिन सञ्चालन भएको जानकारी दिए । उनले तालिम पश्चात सहभागिहरुलाई प्रमाणपत्र सहित उत्कृष्टलाई पुरस्कार समेत उपलब्ध गराईएको जनाए ।
कार्यक्रममा सहभागि पत्रकार प्रतिभा झाले व्यवसायिक निरन्तरताले आत्मनिर्भर बनाउन मद्दत पुग्ने साथै प्याड तालिमबाट एकातिर पैसाको बचत र अर्कोतीर व्यवसायिकता तथा बजारीकरणमा आम्दानी हुने समेत बताईन् ।

२०७७ चैत्र ४, बुधबार १९:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय